काठमाडौँ,०६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन्।
बालेनले आज दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। यस क्षेत्रबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदै आएका छन्। ओलीले पनि आज दिउँसो १ बजे आफ्नो मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। बालेन समर्थकहरूले बाजागाजासहित उनलाई स्वागत गरेका थिए।
यसअघि बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए र त्यसपछि संघीय राजनीतिमा सक्रिय भएका हुन्।





