Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

हरिखेतान क्याम्पसका समस्या समाधान नगरे विद्यार्थी पक्ष निर्णायक आन्दोलनमा जाने चेतावनी

spot_img

वीरगंज,०४ माघ । हरिखेतान क्याम्पसमा लामो समयदेखि देखिँदै आएको शैक्षिक, प्रशासनिक तथा विद्यार्थीसम्बन्धी गम्भीर समस्याप्रति सम्बन्धित निकाय उदासीन बनेको आरोप लगाउँदै विद्यार्थी पक्षले निर्णायक आन्दोलनको चेतावनी दिएको छ।

विद्यार्थीहरूले क्याम्पसको समस्याबारे जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै औपचारिक रूपमा ज्ञापनपत्र बुझाए पनि कुनै ठोस परिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रमुख जिल्ला अधिकारीले १० दिनभित्र क्याम्पस व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थी प्रतिनिधिसँग संयुक्त छलफल गरिने आश्वासन दिए पनि सो प्रतिबद्धता कार्यान्वयन नभएको विद्यार्थीहरूको आरोप छ।

विद्यार्थीहरूले जारी गरेको विज्ञप्तिमा क्याम्पस व्यवस्थापन समितिको चरम लापरबाही, प्रशासनिक गैरजिम्मेवारी र विद्यार्थी अधिकारप्रति गरिएको खुला बेवास्ता गम्भीर रूपमा उल्लेख गरिएको छ। साथै क्याम्पसमा वितरण हुने भनिएको छात्रवृत्ति सरकारी नभई निजी संस्थाबाट आएको हुन सक्ने आशंका व्यक्त गर्दै उक्त विषयमा निष्पक्ष छानबिन गर्न माग गरिएको छ।

शैक्षिक गुणस्तर कमजोर बन्दै जानु, शिक्षक–विद्यार्थीबीच बढ्दो तनाव, आवागमन तथा सुरक्षासम्बन्धी समस्या समाधान नहुँदा क्याम्पसमा निरन्तर संकट चुलिंदै गएको विद्यार्थी पक्षको निष्कर्ष छ। ‘धैर्य गर्नुस्’ भन्ने बहानामा समय बिताउने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी समेत दिइएको छ।

विद्यार्थीहरूले आजदेखि तीन दिनभित्र आफ्ना माग सम्बोधन नभए क्याम्पसको पठन–पाठनदेखि सबै प्रशासनिक सेवा पूर्ण रूपमा बन्द गरी आन्दोलनलाई जिल्ला हुँदै केन्द्रीय तहसम्म विस्तार गरिने चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once