वीरगंज,०४ माघ । मधेश प्रदेशका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारीले पदबाट राजीनामा दिएका छन्। प्रदेश सभामा परेको उनकाे राजीनामा स्वीकृत भइसकेको छ।
पर्सा क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अन्सारी केही दिनअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरिसकेका छन्। रास्वपामा प्रवेशसँगै उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट उम्मेदवारका रूपमा उठ्ने तयारीमा रहेका छन्।
यसअघि अन्सारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए। उनले लेखेको राजीनामा पत्रमा जनयुद्धका शहीद परिवार, परिवर्तनका लागि संघर्ष गर्नेहरू, सत्ता–सुविधामा केन्द्रित हुनेहरू, अवसरवादी समूह तथा वास्तविक शहीदहरूप्रति बोधार्थ व्यक्त गरेका थिए।
प्रदेश सभामा आफ्नै मुखमा कालो मसो दलेको घटनापछि अन्सारी पहिले पनि चर्चामा आएका थिए। नयाँ राजनीतिक यात्रासँगै उनको सक्रियता फेरि एकपटक राष्ट्रिय राजनीतिमा केन्द्रित भएको देखिन्छ।





