वीरगंज,०२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला समन्वय समिति पर्साको राधेमाईस्थित कार्यालय भवनमै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो।
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारका अनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र समयमा सम्पन्न गर्न कार्यालय स्थापना गरिएको हो। उनका अनुसार सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय सक्रिय बनाइएपछि निर्वाचन प्रक्रिया सुरक्षित तथा सहज रूपमा अघि बढ्न सहयोग पुग्नेछ।
मुख्य निर्वाचन अधिकृत तथा पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले निर्वाचन आयोगको निर्देशनअनुसार तयारीका कामलाई तीव्रता दिइएको बताए। उनले प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला पक्षसँग समन्वय गर्दै निष्पक्ष, भयरहित र कानुनी व्यवस्था अनुरूप निर्वाचन गराइने प्रतिबद्धता जनाए।
पर्सा जिल्लामा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति परिसरमै स्थापना गरिएको छ। क्षेत्र नं. ३ को कार्यालय पोखरिया नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा, र क्षेत्र नं. ४ को कार्यालय धोबिनी गाउँपालिका कार्यालय नजिकै सञ्चालनमा ल्याइएका छन्।
जिल्लामा आगामी निर्वाचनका लागि कुल ४४३ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये ४४१ नियमित र २ अस्थायी मतदान केन्द्र रहेका छन्। अस्थायी मतदान केन्द्र वीरगञ्ज कारागार र नेपाली सेनाको श्रीजंग गणमा रहनेछन्। कारागारमा रहेका कैदीबन्दीले त्यहीँबाट मतदान गर्ने व्यवस्था छ भने सुरक्षाकर्मी तथा निर्वाचनमा खटिने कर्मचारीहरूले श्रीजंग गणबाट मत प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं. १ मा १०३, क्षेत्र नं. २ मा ११० तथा क्षेत्र नं. ३ र ४ मा समान रूपमा ११४–११४ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लाभर १६७ मतदान स्थल कायम गरिएका छन्।
पर्सामा हाल कुल मतदाता संख्या ३ लाख ७६ हजार ५१३ रहेको छ। जसमा १ लाख ६४ हजार ४२१ महिला, २ लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन्। फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका नागरिकलाई मतदाता सूचीमा समावेश गरिएको जिल्ला निर्वाचन अधिकारी रौनियारले जानकारी दिइन्।
कार्यालय स्थापना कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्ट, अनुसन्धान कार्यालय पर्साका उपनिर्देशक सन्तोष ढुङ्गेल तथा सम्बन्धित निर्वाचन अधिकृतहरूको उपस्थिति रहेको थियो।






