Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

मधेश प्रदेश सभामुखमा जसपा नेपालका रामआशिष यादव निर्वाचित

spot_img

जनकपुर (धनुषा), ६ पुस । मधेश प्रदेश सभाको सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामआशिष यादव निर्वाचित भएका छन् । आज बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजनमार्फत गरिएको निर्वाचनमा सातदलीय गठबन्धनका साझा उम्मेदवार यादवले स्पष्ट बहुमतसहित सभामुख पद हात पारेका हुन् ।

प्रदेशसभा बैठकमा कुल ९६ जना सांसद उपस्थित थिए । मतदानको क्रममा रामआशिष यादवले ७२ मत प्राप्त गरे भने विपक्षी पक्षबाट २४ मत परेको थियो । यसरी आवश्यक बहुमत हासिल गर्दै यादव सभामुखमा निर्वाचित भएका हुन् ।

सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले मत विभाजनको परिणाम सार्वजनिक गर्दै रामआशिष यादव सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिन् । रामआशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्तुत गरेका थिए ।

सुरुमै रामआशिष यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएपछि सभामुख पदका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव भने सदनमा अघि बढाइएन ।

सभामुखमा निर्वाचित रामआशिष यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका छन् र प्रदेशसभा सञ्चालन तथा संसदीय प्रक्रियामा अनुभव राख्ने नेताका रूपमा परिचित छन् ।

यसअघि मधेश प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल रहेका थिए । तर, सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गत मंसिर ३ गते दुई तिहाई बहुमतका आधारमा उनलाई पदमुक्त गरेको थियो । सो घटनापछि मधेश प्रदेश सभाको सभामुख पद रिक्त रहँदै आएको थियो ।

नयाँ सभामुखको निर्वाचनसँगै मधेश प्रदेश सभाको नेतृत्व रिक्तता अन्त्य भएको छ भने प्रदेशसभा सञ्चालन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once