बर्दिबास (सप्तरी), १ पुस । ज्योति विकास बैंक लिमिटेडको क्लस्टर कार्यालय बर्दिवास अन्तर्गत कर्जा असुली कार्यमा खटिएका बैंक कर्मचारीमाथि सप्तरीमा कुटपिट तथा अमानवीय र अपमानजनक व्यवहार गरिएको गम्भीर घटना सार्वजनिक भएको छ । कर्जा नतिरेको विषयलाई लिएर बैंकको नियमित प्रक्रिया अनुसार फिल्डमा खटिएका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शाखा कार्यालय रुपनीबाट कर्जा लिई समयमा भुक्तानी नगरेपछि बैंक कर्जा असुली प्रक्रियामा अघि बढेको अवस्थामा २०८२ साल मंसिर २४ गते अपराह्न करिब ३ बजे सप्तरीको बलार्द चौकमा बैंकका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि विपक्षी समूहले एक्कासी घेराहाली आक्रमण गरेको हो ।
घटनाका क्रममा उनीहरूलाई जबर्जस्ती नियन्त्रणमा लिई सप्तकोशी नगरपालिका–७ स्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि. सञ्चालनमा रहेको स्थानमा लगिएको बताइएको छ । त्यहाँ कर्मचारीहरूलाई कालो मोसो दल्ने, जुत्ताको माला लगाइदिने, फोटो तथा भिडियो खिच्ने जस्ता गम्भीर अपमानजनक व्यवहार गर्नुका साथै कुटपिटसमेत गरिएको आरोप जाहेरीमा उल्लेख छ ।
यसै क्रममा कर्मचारी सुनित श्रेष्ठले हातमा लगाएको दश आना सुनको औंठी र सुनको सिक्रीसमेत लुटिएको उल्लेख गरिएको छ । उक्त घटनाले बैंकिङ क्षेत्रका कर्मचारीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
घटनासम्बन्धी २०८२ मंसिर २९ गते साँझ ६ बजे रीतपूर्वक जाहेरी दरखास्त प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान तथा खोजतलासका क्रममा घटनामा संलग्न दुई जनालाई सप्तरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा जिल्ला सप्तरी सप्तकोशी नगरपालिका–७ बस्ने ५२ वर्षीय संजिव कुमार चौधरी तथा अग्नीसाईर कृष्णसवरण गाउँपालिका–१, बस्ने ४७ वर्षीय उमाकान्त चौधरी रहेका छन् । पक्राउ परेका अभियुक्तहरूविरुद्ध अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । कर्जा असुली जस्तो कानुनी प्रक्रियामा संलग्न कर्मचारीमाथि गरिएको यस्तो व्यवहारप्रति सर्वत्र निन्दा भइरहेको छ भने दोषीमाथि कडा कारबाहीको मागसमेत उठ्न थालेको छ ।





