वीरगंज,०१ पुष । वीरगंजमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगंज महानगर समितिको आयोजनामा ‘दोश्रो छात्रा तथा जुनियर छात्र टी–२० क्रिकेट प्रतियोगिता’ बुधबारदेखि सुरु हुने भएको छ । गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगिता यसपटक अझ व्यापक सहभागिता र उत्साहका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्याब्सन वीरगंज महानगरका सचिव अमित आलोकले प्रतियोगितामा प्याब्सन अन्तर्गतका विद्यालयहरूबाट ३३६ छात्रा टोली र ३३४ जुनियर छात्र टोली सहभागी हुने बताए । यस प्रतियोगिताको उद्घाटन बुधबार बिहान ११ बजे आदर्शनगर रंगशालामा हुनेछ । उद्घाटन समारोहका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नेछन् । प्रतियोगिता टी–२० नकआउट ढाँचामा सञ्चालन गरिने सचिव अमित आलोकले जानकारी दिए ।
आयोजकका अनुसार, टी–२० ढाँचाले खेलाडीहरूलाई सीमित समयमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । यसले युवा खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने, अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र सामूहिक कार्यको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
विशेषगरी छात्रातर्फको क्रिकेट विकासलाई प्राथमिकतामा राख्दै प्रतियोगिता अघि बढाइएको उनको भनाइ छ । गत वर्ष सम्पन्न पहिलो संस्करण उपलब्धीमूलक रहेको उल्लेख गर्दै प्याब्सन महानगर सचिव तथा क्यान पर्साका सदस्य अमित आलोकले साउथजोन माध्यमिक विद्यालयकी शिवानी साह र अल्पाइन माध्यमिक विद्यालयकी प्रियंका यादव जिल्ला महिला क्रिकेट टोलीमा छनोट हुन सफल भएको जानकारी दिए । यसले प्रतियोगिताले दक्ष महिला खेलाडी उत्पादनमा ठोस योगदान पुर्याएको प्रमाणित गरेको उनले बताए ।
देशभर हाल ४४ जिल्लामा महिला क्रिकेट सञ्चालन भइरहेको सन्दर्भमा, प्याब्सन वीरगंज महानगरपालिकाले सुरु गरेको छात्रा क्रिकेट प्रतियोगिताले भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको आलोकको भनाइ छ । प्रतियोगिता आयोजनाका लागि करिब ७ देखि ८ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ट्रफी र प्रमाणपत्र, तथा तेश्रो स्थान हासिल गर्ने टोलीले ट्रफी पाउनेछन् । साथै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ ।
प्लेट च्याम्पियनशिप विजेता ट्रफी र सहभागी विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । वीरगंज महानगर वडा नम्बर १४, पिपरा स्थित सनसाइन इंग्लिश स्कुलमा आयोजित पत्रकार सम्मेलन प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सचिव अशोक संग्रौला, महानगर उपाध्यक्ष शर्मानन्द कुश्वाहा, सदस्य विजय बल, सल्लाहकारहरू मार्टिन मोक्तान र आलोक चौरसियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भने सचिव अमित आलोकले गरेका थिए ।
विद्यार्थीहरूको आत्मविश्वास वृद्धि, खेलकुद संस्कृतिको विकास र भविष्यका सक्षम क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताले वीरगंजको खेलकुद क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।





