Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

दशैंअघि चिनियाँ नाकामा कन्टेनर रोकिँदा नेपाली व्यवसायी संकटमा

spot_img

काभ्रेपलाञ्चोक,११ असोज । नेपालीहरूको पर्व दशैंको मुखमा पनि अन्य समयभन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले गुनासो गरेका छन् ।

पहिरोको कारण यो नाका करिब दुई महिनादेखि अवरुद्ध थियो । बल्लतल्ल नाका खुल्दा पनि चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दशैंलक्षित सामान ल्याउन समस्या भएको उनीहरूले बताएका छन् ।

दशैंका लागि सामान हालेका व्यवसायीहरूको कन्टेनरहरू चिनियाँ पक्षले पर्याप्त रुपमा नछाड्दा मारमा परेको गोल्डस्टारका सप्लाई हेड संजीव कर्णले जानकारी दिए । दशैँमा बनाएर बेच्नको लागि ल्याइएको ५० करोड बराबरको कच्चा सामान ल्याउन नपाउँदा ३० दिन देखि कारखाना नै नचलेको बताउँछन् ।

गोल्ड स्टारका सप्लाई हेड कर्णले दशैंको लागि लिएर आएको १७ वटा कन्टेनरमध्ये दुईवटा कन्टेनर मात्र नेपाल भित्रिएको जानकारी दिए । दशैंको लागि भनेर गोल्ड स्टार जुत्ताको कच्चा पदार्थ ल्याएको कन्टेनर चिनमै रोकिएपछि ठूलो मारमा परेको जानकारी दिए।

‘पहिरोको मारमा परेर अड्किएको सामान अहिले चिनिया पक्षले रोक्दा दशैंमा माग भए अनुसारको सामान दिन सकिएन । ५० दिन सडक अवरुद्ध भयो। पाँच दिन लगाएर खुल्यो। त्यसपछि सडकमा जम्मा भएको कन्टेनरहरू पास गराउने काम भयो। तर हाम्रो सामान लिएर आउने पहल भएन’, कर्णले भने, ‘दशैं त बिग्रियो बिग्रियो, तिहार सम्ममा जुत्ता बनाउन सकियो भने अलिकति भर्थेक हुन्थ्यो कि भन्ने हो तर सरकारको पहल शून्य भो ।’

संरचनाहरू भए पनि तातोपानी भन्सारको कोर्डिनेसन नपुगेको जस्तो देखिएको बताउँदै उनले तातोपानी भन्सारले नसके चोभार सुख्खा बंदरगाहबाट काम गर्न सकिने बताए । ‘मेरो त कच्चा सामग्री मात्रै हो। तर रेडिमेड तयार भएर आएका कपडा जुत्ता लगायत लत्ता कपडा त्यही रोकिँदा व्यापारीहरुलाई बढी समस्या भएको छ। स्याउ, सुन्तला र आँपमा मात्रै ध्यान दिइएको छ । कतिखेर पानी पर्छ र फेरि रोकिन्छ’, उनले भने ।

नेपाली भूभागमा भएको सामानको कुनै समस्या नभए पनि चिनियाँ भूभागमा भएको कन्टेनर नेपाल प्रवेश नहुँदा समस्या भएको ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले बताए ।

थापाका अनुसार अन्य दिनको तुलनामा कन्टेनरहरूको अनुपात कम भएको जानकारी दिए । ‘अहिले सिजनल समय हो। यो दशैंको बेलामा रेडिमेड कपडा र फलफुलको माग छ । ५० दिन पहिरोले रोकियो। बल्ल खुलेको बेला रोकिएका जति सबै कन्टेनरहरु आउने अपेक्षा थियो। तर के कारणले रोकियो थाहा भएन’, थापाले भने, ‘एभरेजमा दैनिक ४० वटा कन्टेनर आउनुपर्नेमा अहिले मुस्किलले ७-८ कन्टेनरहरू मात्र आइरहेका छन्।’

अरू बेलाको तुलनामा बिहीबार चीनबाट कम कन्टेनर आएको तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले बताए । चिनियाँ पक्षले खासमा निर्माण गर्न लागेको निर्माणका क्रममा ट्राफिक समस्या भयो भन्दै दशैं लक्षित सामग्रीहरू खासामै अड्किएको उनको भनाइ छ ।

यसबारेमा चिनियाँ पक्षसँग कुरा भइरहेको पनि उनले जानकारी दिए । चिनको खासाबाटै ट्रकहरु कम आएको छ, खासामा निर्माण भइरहेको छ, उनीहरुले निर्माण र ट्राफिकलाई देखाएर कन्टेनरहरु रोकेका छन्। हामी पारी नै गएर हेर्‍यौं, हामीले दशैं अगाडि नै सामान पुगेन भने व्यवसायीहरू डुब्छन् भनेका छौं उहाँहरुले ट्राफिकलाई दोष दिएर कन्टेनर रोक्नुभएको छ। सायद शनिबारबाट कन्टेनर छाड़छन कि ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once