वीरगंज,३१ भदौ । नारायणी अस्पताल वीरगंजको एनआईसीयू (NICU) वार्डको स्टोर कोठामा मंगलबार बिहान करिब ४ बजे आगलागी भएको छ । प्रारम्भिक जानकारीअनुसार आगो विद्युतिय कारणले लाग्न सक्ने आशंका गरिएको छ ।
अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहले आगो छिट्टै नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन् । आगलागीका कारण बाल विभागमा भर्ना भएका बिरामीहरूलाई अर्को विभागमा सारेर उपचार जारी राखिएको छ।
आगलागीको कारण करिब तेस्रो तलामा रहेको स्टोर कोठामा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् । वीरगंज महानगरपालिकाबाट आएको वारुण यन्त्रको सहयोगमा आगो निभाइएको थियो ।
प्रवक्ता डा. सिंहका अनुसार, आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।





