वीरगंज,२६ भदौ । पर्सा जिल्लामा पछिल्ला दिनमा भएको प्रदर्शन र आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सर्वसाधारणलाई संयमित हुन आग्रह गरेको छ।
जिल्ला सुरक्षा समितिको अनुरोधसहित जारी विज्ञप्तिमा नागरिकको जीउ–धन तथा सरकारी सम्पत्तिमा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित सबै सुरक्षा निकाय परिचालन गरिएको उल्लेख छ।
जिल्लामा शान्ति, अमन–चयन कायम गर्ने र अपराधजन्य घटना नियन्त्रण गर्ने कार्यमा सुरक्षा समिति कटिबद्ध रहेको उल्लेख गर्दै सबै नागरिकबाट साथ र सहयोगको अपेक्षा गरिएको छ।
प्रदर्शन र आन्दोलनको नाममा विभिन्न अराजक व्यक्ति र समूहहरूले सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंसक क्रियाकलाप नगर्न तथा नगराउन आग्रह गरिएको छ।
प्रचलित कानुन विपरीत अराजक, उच्छृङ्खल वा गैरकानूनी गतिविधि गर्ने, सरकारी वा निजी सम्पत्तिमा क्षति पुर्याउने, आगजनी वा हुलहुज्जत गर्ने व्यक्ति वा समूहलाई सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा कानून पालना र शान्ति सुरक्षामा सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरिएको छ।





