Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

सरकारको नेतृत्व लिन तयार छु : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

spot_img

काठमाडौं,२६ भदौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन्।

भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई अन्तर्वार्ता दिँदै आफू त्यसका लागि राजी रहेको बताएकी हुन्।

आन्दोलनकारी जेनजी समूहहरूले कार्कीलाई नेतृत्व लिन आग्रह गरिरहेका बेला उनले आफू अन्तरिम सरकारको नेतृत्वका लागि तयार रहेको बताइन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले भनेकी छन्, ‘उनीहरूले मलाई चुनावी प्रयोजनका लागि छोटो समय सरकारको नेतृत्व गर्न भनेका छन्। मैले यसलाई स्वीकार गरेकी छु ।’

अन्तर्वार्तामा उनले आफू अन्तरिम सरकार प्रमुख भएपछि तत्काल आन्दोलनमा मारिएकाका परिवारलाई राहत दिने, शान्ति कायम गर्ने र पुनर्निर्माण तथा निर्वाचन गराउने उल्लेख गरेकी छन् । कार्कीले भनेकी छन्, ‘मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिनु हुनेछ। अहिले उहाँहरूको एउटा माग अर्थात् प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ। सरकार बनेपछि अरू धेरै कुरा पूरा गर्न सकिन्छ ।’

उनी थप्छिन्, ‘पहिलो त शान्तिको आवश्यकता नै हो। म भन्दिनँ कि म ठुलो आर्थिक सुधार ल्याउँछु। मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो। अहिलेको अवस्थामा ध्वस्त भएको भवनलाई केही निर्माण गर्न सकिन्छ। तर, निष्पक्ष निर्वाचन होस् भन्ने हो। पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो।’

पूर्वप्रधानन्यायाधीश कार्कीले चुनाव गराउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने उल्लेख गरेकी छन्।

‘चुनाव गर्न त समय लाग्ला। ६ महिना लाग्ला, १ वर्ष लाग्ला। तर छोटो समयमा चुनाव गरेर हस्तान्तरण गर्छौं। म कार्यकारी व्यक्ति होइन, म जज हुँ। मलाई राजनीतिमा रहेर केही गर्नु छैन’, उनले भनेकी छन्।

सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसमेत गरेकी कार्कीले भारतीयहरुसँग आत्मीय सम्बन्ध रहेको समेत बताएकी छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै उनले भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताएकी छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत सडकमा उत्रिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once