काठमाडौँ,२४ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। सोमबार जेन–जी युवाहरूको प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै उनले राजीनामा दिएका हुन्।
मन्त्री यादवको स्वकीय सचिवालयका अनुसार उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका छन्। उनले लेखेका छन् :
“हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।”
युवाप्रति ऐक्यबद्धता जनाउँदै उनले थपे :
“प्रिय युवा भाई–बहिनीहरू, तपाईँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सूत्रधार हुनुहुन्छ। हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्गदर्शन दिन र सहयोग गर्न अपिल गर्दछु।”
यसबीच, पर्साका सांसद तथा कानुन मन्त्री अजय चौधरीलाई पनि राजीनामाको माग गरिएको छ, तर उनको प्रतिक्रिया अहिलेसम्म आएको छैन।





