सिन्धुली,२० भदौ । कमलामाई नगरपालिका–९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
आज बिहान करिब ६ बजे विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६८–९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। उपचारको क्रममा बिहान ७ बजे उनको निधन भएको हो।
घाइते भएका ६४ वर्षीय टेकप्रसाद दाहाललाई टाउको र छातीमा चोट लागेकाले बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
अनियन्त्रित ट्रक सडक किनारमा रहेको लोकनाथ गौतमको घरमा ठोक्किएर कोल्टे परेको छ। घरका मानिसहरू सुरक्षित रहेका छन् तर गारोले थिचिँदा करिब २० वटा कुखुरा मरेका छन्।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।





