वीरगंज,०८ भदौ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले पर्साको वीरगंज महानगरपालिका–१६ मा गरिएको चेकजाँचका क्रममा दुई भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।
आइतबार नेपालबाट भारततर्फ जाँदै गरेको बा.५ ख १२३७ नम्बरको नेपाल–भारत मैत्री यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा भारत महाराष्ट्र, मुम्बई बस्ने ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकवाल सय्यदलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुकाे साथमा रहेको झोलामा लुकाइछिपाइ राखिएको ६ किलो ४ सय ग्राम गाँजा बरामद भएकाे छ । सशस्त्र प्रहरीले बरामद गाँजासहित दुबैजनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएकाे छ ।





