वीरगंज ,११ साउन । पर्सा जिल्लामा देखिएको खानेपानी र सिंचाइको समस्याको दीर्घकालीन समाधान खोज्न आइतबार समन्वय तथा सहजीकरण समितिको बैठक सम्पन्न भएको छ। बैठक जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनारको अध्यक्षतामा बसेको हो।
बैठकमा पर्सा जिल्लाको जलसम्बन्धी समस्या समाधानका लागि आवश्यक कदमहरूबारे छलफल गर्दै नौ बुँदे निर्णयहरू पारित गरिएको छ।
निर्णय अनुसार हालसम्म स्थापना गरिएका धारा र डिप बोरिङहरूको विस्तृत विवरण संकलन गरिनेछ। साथै, जहाँ पानीको अभाव छ, ती क्षेत्रको पहिचान गरी आवश्यकताको आधारमा पानी आपूर्तिको अवधारणा तयार गरिनेछ।
बैठकमा वास्तविक अभाव भएका बस्तीहरूमा न्यूनतम ५ हजार लिटर क्षमताका पानी ट्याङ्की जडान गर्ने निर्णय गरिएको छ। यो कार्य युनिसेफ नेपाल र जिल्ला समन्वय समितिको सहकार्यमा सात दिनभित्र सम्पन्न गरिनेछ।
त्यस्तै, विद्यमान डिप बोरिङहरूमा विद्युत् आपूर्तिका लागि उपभोक्ता समिति गठन गरेर मिटर जडान गरिनेछ। जहाँ वैकल्पिक स्रोत उपलब्ध छैन, त्यस्ता ठाउँमा स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा नयाँ डिप बोरिङ जडान गरिनेछ।
नेपाल विद्युत प्राधिकरणले खानेपानी र सिंचाइ प्रयोजनका लागि आएका निवेदनहरू २४ घण्टाभित्र मिटर जडान गरिसक्नुपर्ने निर्णय पनि गरिएको छ।
खानेपानीको किफायती प्रयोग र सरसफाइ प्रवर्द्धन गर्न जनचेतनामूलक अभियान सञ्चालन गरिनेछ, जसको समन्वय युनिसेफ नेपालले गर्नेछ।
त्यसैगरी, गण्डक नहरको सरसफाइ तथा आवश्यक मर्मत कार्य तुरुन्तै सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मी, प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवे, नेपाल खानेपानी संस्थानका प्रविण कुमार साह, नारायणी सिंचाइ कार्यालयका इन्जिनियर सुरेश साह, र कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुर लगायतको उपस्थिति रहेको थियो।





