Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

सीमा विवादले डरलाग्दो रूप लिँदा थाइल्याण्ड–कम्बोडियाबीच सम्बन्ध चिसिंदै

spot_img

काठमाडौं, ०८ साउन ।
थाइल्याण्ड र कम्बोडियाबीच लामो समयदेखि जारी सीमा विवादले अहिले खतरनाक मोड लिएको छ । पछिल्ला झडपहरूमा कम्तीमा १२ जना थाई नागरिकको ज्यान गइसकेको पुष्टि भएको छ ।

ज्यान गुमाउनेमध्ये अधिकांश सर्वसाधारण रहेको जानकारी सार्वजनिक भएको छ, जसले मानवीय संकटको स्वरूपलाई झनै भयावह बनाएको छ । थाईल्यान्डका स्वास्थ्य मन्त्रीका अनुसार, मृतकमध्ये एक जना सैनिक र ११ जना सर्वसाधारण थिए । सुरिन प्रान्तमा आठ वर्षे बालकसहित दुई जनाको ज्यान गएको छ भने उबोन रत्चाथानी प्रान्तमा एक सर्वसाधारणको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति श्रीसाकेत प्रान्तमा पुगेको छ, जहाँ एक १५ वर्षे किशोर, एक सैनिक र अन्य आठ सर्वसाधारणको ज्यान गएको छ ।

आरोप–प्रत्यारोप र कूटनीतिक तनाव

झडपको सुरुआत कम्बोडियाबाट थाई गाउँमा रकेट आक्रमण भएको आरोपसँगै भएको हो । त्यसको जवाफस्वरूप थाइल्याण्डले कम्बोडियाली सैनिक चौकीमा हवाई आक्रमण गरेको दाबी गरिएको छ । थाई सरकारले आफ्ना नागरिकलाई कम्बोडिया छाड्न अपील गर्दै सम्पूर्ण सीमा बन्द गरिसकेको छ । उता, कम्बोडियाले थाइल्याण्डमाथि ‘अत्यधिक बल प्रयोग’ गरेको आरोप लगाउँदै दुई देशबीचको सम्बन्ध अझ चिसिएको बताएको छ । थाई विदेश मन्त्रालयले कम्बोडियालाई यस्ता गतिविधि रोक्न आग्रह गर्दै ती कार्यहरूलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनेको छ । यदि आक्रमण रोकिएन भने, आत्मरक्षाका लागि आवश्यक सबै कदम चालिने चेतावनी पनि थाई पक्षले दिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले आफ्नो फेसबुकमार्फत नागरिकहरूलाई शान्त रहन आग्रह गर्दै लेखेका छन्, “कम्बोडिया जहिल्यै विवादको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्ने पक्षमा छ । तर यो अवस्थामा सशस्त्र आक्रमणको जवाफ दिनु अपरिहार्य बनेको छ ।” उनका पिता तथा पूर्व प्रधानमन्त्री हुन सेनले पनि सीमावर्ती क्षेत्रबाहेकका ठाउँहरूमा सामान्य जीवनयापन जारी राख्न नागरिकहरूलाई आह्वान गरेका छन् ।

चीनको चासो र आसियानको भूमिका

सङ्कट चुलिँदै जाँदा चीनले पनि गम्भीर चिन्ता व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले दुवै मुलुकलाई संयमता अपनाउँदै वार्ता र परामर्शमार्फत समाधान खोज्न सुझाव दिएका छन् । उनले बेइजिङ सधैं निष्पक्ष र जिम्मेवार मध्यस्थको भूमिकामा रहेर शान्ति प्रवर्द्धनमा योगदान दिन तयार रहेको जनाएका छन् । यसअघि पनि चिनियाँ विदेशमन्त्री वाङ यीले दुई मुलुकलाई वार्तामार्फत सीमा विवाद समाधान गर्न आग्रह गरेका थिए ।

द्वन्द्वको भविष्य र नेतृत्वको चुनौती

यस्ता सीमा झडपहरू विगतमा पनि देखिएका थिए, तर ती तुलनात्मक रूपमा छोटो अवधिमा शान्त भएको इतिहास छ । तर, अहिलेको परिस्थितिले भने थप चिन्ता बढाएको छ । पूर्ण युद्धमा परिणत नहोला भन्ने आशा भए पनि दुवै देशमा समस्यालाई समाधान गर्न आवश्यक राजनीतिक इच्छाशक्ति र नेतृत्वको कमी देखिएको छ । कम्बोडियामा प्रधानमन्त्री मानेतले अझै आफ्नो पूर्ण शक्ति स्थापित गर्न सकेका छैनन् भने कमजोर अर्थतन्त्रले पनि उनलाई दबाबमा राखेको छ । त्यस्तै, उनका पिता हुन सेन राष्ट्रवादी भावनालाई मजबुत पार्न यो द्वन्द्वलाई प्रयोग गरिरहेका देखिन्छन् ।

थाईल्यान्डको पक्षमा अस्थिर गठबन्धन सरकार छ, जसको पृष्ठभूमिमा शक्तिशाली नेता थक्सिन सिनावात्रा छन् । एक समयमा थक्सिनले हुन सेनसँग राम्रो सम्बन्ध रहेको विश्वास गर्थे, तर हालै हुन सेनले थक्सिनसँगको निजी संवाद सार्वजनिक गरेपछि सम्बन्ध चिसिएको छ । यही घटनाले थक्सिनकी छोरी तथा प्रधानमन्त्री पेतोङ्तार्नको निलम्बनमा पनि भूमिका खेलेको बताइएको छ । यसबाट थाई नेतृत्वमा आन्तरिक असन्तोष झन् बढेको छ ।

अब मुख्य प्रश्न भनेको, आसियान सदस्य राष्ट्रहरूले दुवै पक्षलाई तनाव घटाउन कत्तिको सफलतापूर्वक मनाउन सक्छन् भन्ने हो । सदस्य मुलुकहरूबीचको द्वन्द्व टार्नै आसियानको मूल उद्देश्य रहँदै आएको छ, र यसपटक पनि केही राष्ट्रहरूले समाधानका लागि सक्दो प्रयास गर्ने संकेत देखाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once