Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
18.1 C
Kathmandu

वीरगंजमा खानेपानी सेवा विस्तारका लागि महानगर र संस्थानबीच समझदारी

spot_img

वीरगंज,०१ श्रवान । वीरगंज महानगरपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव र गुणस्तरहीनताको समस्या भोगिरहेका बासिन्दाहरूका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुने गरी बिहीबार वीरगंज महानगरपालिका र नेपाल खानेपानी संस्थानबिच खानेपानी सेवा विस्तार सम्बन्धी एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

स्थानीयवासीलाई खानेपानीको अभाव र समस्यालाई सम्बोधन गर्दै महानगरका बासिन्दालाई स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न आज महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

बिहीबार हस्ताक्षर भएको समझदारी पत्र अनुसार आजबाट नै यो समझदारी लागू भएको महानगरपालिकाले जनाएको छ ।“यो समझदारीले महानगरपालिका भित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरेका छौँ” मेयर सिंहले भने ।

समझदारी पत्रको प्राथमिक उद्देश्यहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानीका समस्याहरूको दीर्घकालीन समाधान खोज्नु, नगरवासीहरूमा थप घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु, नयाँ खानेपानी जडान प्रक्रियालाई अझ सरल, छिटो र पारदर्शी बनाउनु, र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा समग्र सुधार ल्याउनु समावेश छन् ।

त्यस्तै समझदारी पत्रले विशेषगरी हाल खानेपानीको अभाव झेलिरहेका र गुणस्तरहीन पानी प्रयोग गर्न बाध्य रहेका स्थानीयवासीहरुलाई प्रत्यक्ष लाभ पुर्‍याउने तथा स्वच्छ खानेपानीको सुनिश्चितताले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र पानीजन्य रोगहरूको जोखिम न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

समझदारी पत्र अनुसार, नेपाल खानेपानी संस्थानले खानेपानी सेवा विस्तारको मुख्य जिम्मेवारी वहन गर्नेछ । सम्झौता अनुसार आवश्यक नियमानुसार धरौटी रकम वीरगंज महानगरपालिकाबाट जम्मा गर्ने पत्र प्राप्त भएपछि नयाँ धारा जडान गर्ने, खानेपानी सेवा सुदृढ गर्नुका साथै पाइपलाइन विस्तार र हालको पाइपलाइनको मर्मत सम्भार गर्ने, उपभोक्ताहरूलाई नयाँ धारा जडान र स्वच्छ खानेपानीको प्रयोगबारे जनचेतना फैलाउने कार्यक्रम गरिने छ ।

खानेपानी वितरण सम्बन्धी कुनै गुनासो आएमा तत्काल समाधानका लागि आवश्यक कारबाही गर्ने, महानगरपालिकाबाट उपभोक्तालाई आवश्यक सेवा प्रदान गर्दा खानेपानी महसुल भुक्तानीका लागि प्रक्रिया मिलाउने जस्ता मुख्य कार्य नेपाल खानेपानी संस्थानले गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once