Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

वीरगंजमा खानेपानीको दीर्घकालीन समाधानका लागि बृहत् योजना :मन्त्री यादव

spot_img

वीरगंज,२५ असार । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित तराई–मधेसका जिल्लाहरुमा चापाकल सुकेर खानेपानीको संकट बढेकाले उक्त समस्या समाधानका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गर्न आग्रह गरेका छन् ।

तराई–मधेसका जिल्लामा खानेपानीको समस्या उत्पन्न भएपछि प्राकृतिक विपत्तिमा पीडित नागरिकहरूप्रति सहानुभूति प्रकट गर्दै, बीरगन्जबासीको खानेपानीको समस्या समाधान गर्न आफु स्वयं बीरगन्जका विभिन्न प्रभावित वडाका घर–घरमा पुगेर स्थलगत निरीक्षण गरिरहेको मन्त्री यादवले जानकारी दिए । मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहटलगायत मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको संकट सृजना भई जनजीवन प्रभावित भएको भन्दै सबैको सहयोग र समन्वयबाट समस्या समाधान गर्न सकिने बताए ।

“यस प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म बीरगन्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरिरहेको छु”, उनले भने, “खानेपानी समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सालगायत जिल्लासहित बीरगन्ज महानगरपालिकाका विभिन्न वडामा हालसम्म २ सय ३७ भन्दा बढीको संख्यामा डिपबोरिङ गाडिसकिएको छ । समस्या समाधानका लागि थप पहल भइरहेका छन् ।” मन्त्री यादवले आगामी आर्थिक वर्षको सुरुआतसँगै यसकार्यलाई अझ द्रुतगतिमा अगाडि बढाइने बताउँदै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताए ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकको सहयोगमा ४ अर्ब ५० करोड लागतमा वीरगन्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उनको भनाइ छ । “यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन सबैलाई आग्रह गर्दछु । सबैको सहयोग र समन्वयले समस्या समाधानको विकल्प निकाल्न सकिने छ”, उनले भने । प्रदेश र स्थानीय सरकार, खानेपानी र सरसफाइ क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उनले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once