Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
22.1 C
Kathmandu

११ महिनामा वीरगंज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम आयात

spot_img

वीरगंज ,०८ असार । चालु आर्थिक वर्षको ११ महिनामावीरगंज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो। समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ। सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११.६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ।

वीरगंज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ। यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ। चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ। जबकि गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ।

गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ। डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा भने ३६ अर्ब चार करोड सङ्कलन गरेको थियो। त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ। जबकि गत आवको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ।

पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड राजस्व सङ्कलन गर्‍यो भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड सङ्कलन गरेको छ। यो नाका हुँदै चालु आवको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ। जबकि गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको छ। ग्यास आयातबापत ६ अर्ब २४ करोड राजस्व सङ्कलन गर्‍यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट पाँच अर्ब १६ करोड सङ्कलन गरेको छ।

वीरगंज नाका हुँदै चालु आवको ११ महिनामा १५ अर्ब तीन करोड मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ। जबकि गत आवको ११ महिनामा भने १७ अर्ब ११ करोड मूल्यको एक लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको छ। एटिएफ आयातबापत दुई अर्ब ३५ करोड सङ्कलन गर्न सफल भएको छ। जबकि गत आवको सोही अवधिमा दुई अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको थियो। यो नाका हुँदै चालु आवको ११ महिनामा ५९ करोड मूल्य पर्ने ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ। गत आवको सोही अवधिमा भने ६३ करोड मूल्यको छ हजार १२० किलोलिटर मट्टितेल आयात भएको छ। मट्टितेल आयातबाट १६ करोड राजस्व सङ्कलन गर्‍यो भने गत आवको सोही अवधिमा १६ करोड नै राजस्व सङ्कलन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once