Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
24.1 C
Kathmandu

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

spot_img

बैतडी ,०८ असार । बैतडीको प्रमुख खाद्य बालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ। उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए । केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ। हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ।

कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार–७ का दीपेन्द्र कार्कीले बताए। उनले भने, ’फौजी कीराले मकैबाली सखाप पारेको छ। उत्पादनमै कमी हुने देखिन्छ।’ लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो। दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताए।

उनले भने, ’फौजी कीरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ ।’ मकैको पकेट क्षेत्रमा नै कीराले नोक्सान गरेको छ। पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ । बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once