वीरगंज,२७ जेष्ठ । बाराको परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तयारी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पालिकाले जनचाहना अनुसारको यथार्थपरक, जनमैत्री, दिगो विकासमा केन्द्रित, प्रभावकारी र जनसहभागितामूलक बजेट निर्माण गर्न आम नागरिक, संघसंस्था तथा सरोकारवालाहरूबाट राय सुझाव माग गरेको हो।
गाउँपालिका कार्यालयले एक सूचना जारी गर्दै आगामी असार १ गतेसम्म लिखित रूपमा सुझाव दिन आह्वान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्थानीय बासिन्दा तथा पालिकाभित्र रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले आफ्नो राय, सल्लाह र सुझाव पेश गर्न सक्ने जानकारी दिएका छन्।
राय सुझावहरू पालिकाको आधिकारिक इमेल वा योजना शाखाको प्रमुखको मोबाइल नम्बरमा पठाउन सकिनेछ। पालिकाले प्राप्त राय सुझावको समायोजन गरी नीति तथा कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाइने जनाएको छ।






