Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
16.1 C
Kathmandu

सिङ्दी पदयात्रा मार्गको नयाँ गन्तव्य, संस्कृति र प्रकृतिको संगम

spot_img

गण्डकी,२४ जेष्ठ ।लमजुुङको क्होलासोँथर गाउँपालिका–५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ। गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको सक्रियतामा अध्ययन एवं अन्वेषण गरी घोषणा गरिएको गुरुङ सम्पदा पदमार्गमा सिङ्दी समावेश गरिएको छ ।

कास्की, लमजुुङ र मनाङका विभिन्न भागहरू समेटिएको यस पदमार्गले पहाडी तथा हिमाली भेगका कोरी, क्होलासोँथर, ठूलो लेक, थुुर्जु, दुधपोखरी, गुरुङ देउरालीदेखि मनाङको तिमाङसम्मका भूभागलाई समेटेको जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिए।

पदमार्गअन्तर्गत लमजुुङका प्राचीन गाउँहरूलाई समेट्दै यिनीहरूको प्रवद्र्धन गर्न खोजिएकोे उनले जानकारी दिए । संघले चरणबद्ध रुपमा खोज अन्वेषण र प्रवद्र्धन गर्दै सन् २०२६ देखि यो पदमार्ग पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष किसम कुमारी गुरुङले जानकारी दिइन् ।

संघले तेस्रो चरणको कायक्रमअन्तर्गत शुक्रबारदेखि नेपाल पर्यटन बोर्ड, क्व्होलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दी हुँदै दुधपोखरी, लमजुङ एवं मनाङको सीमाना गुरुङ देउराली, हर्सिङडाँडा लगायतका स्थानलाई पदमार्गका रुपमा समेट्ने गरी खोज तथा अन्वेषण सुरु गरेको उनले बताइन् ।

उनका अनुसार गुरुङ सम्पदा पदमार्गका रुपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ आयोजित यस चरणको कार्यक्रममा पोखराबाट लम्जुङको सिड्दी हुँदै पसगाउँ–भुजुङ– घनपोखरा–राप्रुजु–क्युपारा–थुर्जु–दुधपोखरी-गुरुङ देउराली–को ब्रोखर्का–सिउरुङ– हर्सिङडाँडा हुँदै पुनः पोखरासम्मको खोज अनुसन्धानात्मक पदयात्रा गरिने छ ।

पदमार्ग प्रवर्द्धन टोलीलाई सिङ्दीमा स्वागत गर्दै सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुुरुङले आँफूहरूले होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने बताए । यहाँका कूल दुई सय ३५ घरमध्ये २० वटा घरमा घरवास सञ्चालन भएको जानकारी दिँदै उनले २०७६ सालदेखि सुरु गरिए पनि औपचारिक दर्ता भने २०८१ मा मात्र भएको जानकारी दिए ।

सिङ्दीमा दैनिक तीन सय जनासम्म पर्यटकलाई घरवासमा राख्न सकिने बताउँदै उनले स्थानीय उत्पादनको स्वादसँगै यहाँको प्रकृति र संस्कृतिको भरपुर उपयोग गर्न पाउने बताए। अन्य गाउँमा जस्तो बसाइसराइको अवस्था सिङ्दीमा नरहेको बताउँदै उनले पदयात्रा पर्यटनलाई घरवाससँग जोड्दै धेरैभन्दा धेरै पर्यटकलाई गाउँमा भित्र्याउने योजना रहेको बताए। सिङ्दीमा खानेपानी लगायतका सुविधा सहज रुपमा उपलब्ध भइरहेको क्होलासोँथर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङले बताए। घरवासमा आएका पर्यटकलाई उनीहरूको इच्छाअनुसार कागुनोको भात, कोदो तथा मकैका परिकार आदि उपलब्ध गराउने गरिएको उनको भनाइ छ।

प्राचीन कालदेखि मिलेर बसेको सुन्दर बस्तीलाई पदयात्रा पर्यटनसँग जोड्दै यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उनले जानकारी दिए। गाउँस्थित गुम्बा, देवीस्थान मन्दिर आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् । सोरठी, घाँटुु, कृष्णचरित्र जस्ता संस्कृतिहरू विद्यमान रहेको उनले जानकारी दिए। सिङ्दीबाट पर्यटकीयस्थल कर्पुडाँडालाई पदमार्गमार्फत जोड्ने गरी यहाँको करिब एक हजार तीन सय मिटर सिँढी निर्माण गरिएको र बाँकी बोटोलाई जोड्ने योजना रहेको उनले सुनाए। पर्यटकीय नगरी पोखराबाट दैनिक सार्वजनिक यातायात सञ्चालन भैरहेको सिङदीमा आउन करिब चार घण्टा लाग्दछ। सिङ्दीबाट पोखरा जोडिने सडकलाई व्यवस्थित गर्न भने जरुरी रहेको उनको भनाइ छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once