Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

गाजाबाट अन्तिम अमेरिकी बन्धकको रिहाइ तयारीमा हमास

spot_img

 गाजा । हमासले इडान अलेक्जेन्डर नाम गरेका अमेरिकी-इजरायली बन्धकलाई रिहा गर्ने बताएको छ। उनी गाजामा जीवित रहेको अन्तिम अमेरिकी नागरिक भएको विश्वास गरिएको छ। यो कदम गाजामा युद्धविराम सम्झौताका लागि भइरहेको प्रयासको हिस्सा हो।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्यामा आएको हो। हमासले यो कदम मानवीय सहायताको प्रवेशको लागि सम्झौता सहज बनाउन पनि लिएको बताएको छ। गाजा ७० दिनदेखि इजरायली नाकाबन्दीमा छ।

हमासले २१ वर्षीय अलेक्जेन्डरको रिहाइले खाद्यान्न, औषधि र अन्य मानवीय सामग्री गाजामा प्रवेश गराउने प्रयासलाई सहज बनाउने विश्वास व्यक्त गरेको छ।

बीबीसीलाई उच्च हमास नेताले दिएको जानकारीअनुसार, हमासले अमेरिकी प्रशासनको प्रतिनिधिसँग कतारमा प्रत्यक्ष वार्ता गरिरहेको छ। इजरायली प्रधानमन्त्री कार्यालयले अमेरिकामार्फत् अलेक्जेन्डरको रिहाइको तयारीबारे जानकारी पाएको जनाएको छ।

वार्तासँग जानकार एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताए अनुसार हमासको यो घोषणा राष्ट्रपति ट्रम्पको आगमनअगाडि सद्भावको संकेतस्वरूप गरिएको हो।

स्रोतअनुसार अलेक्जेन्डरको रिहाइ प्रक्रिया टुंगो लगाउन सोमबार बिहान हमास र मध्यस्थकर्ताबीच अर्को बैठक तय भएको छ। रिहाइका क्रममा केही समयका लागि इजरायली सैन्य कारबाही र हवाई आक्रमण स्थगित गरिनेछ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा अलेक्जेन्डरको रिहाइलाई ‘ऐतिहासिक खबर’ भन्दै यसलाई ‘सद्भावमा उठाइएको एक कदम’ भनेका छन्। ट्रम्प मंगलबार मध्यपूर्व आइपुग्ने कार्यक्रम छ।

तेल अविवमा जन्मिएर अमेरिकाको न्यू जर्सीमा हुर्किएका अलेक्जेन्डर ७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणका क्रममा इजरायली सीमामा कार्यरत थिए। सो आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। तीमध्ये ५९ अझै गाजामै छन् र २४ जना मात्र जीवित रहेको अनुमान छ। तीमध्ये पाँचजना अमेरिकी नागरिक छन् भने अलेक्जेन्डरमात्रै जीवित रहेको ठानिएको छ।

इजरायली प्रधानमन्त्री कार्यालयले अलेक्जेन्डरको रिहाइलाई अमेरिकाप्रतिको सद्भावको रूपमा व्याख्या गरेको छ र यसले अन्य बन्धकको विषयमा पनि वार्ताको ढोका खोल्ने विश्वास व्यक्त गरेको छ।

‘फ्यामिली एन्ड मिसिङ फ्यामिली फोरम’ नामक बन्धक परिवारको समूहले यो कदमलाई सबै बन्धकको रिहाइका लागि सन्देशपूर्ण शुरूआतका रूपमा लिन आग्रह गरेको छ।

यद्यपि हमासले युद्ध अन्त्य बिना कुनै सम्झौता मान्न नसक्ने अडान लिँदै आएको छ, जुन इजरायली प्रधानमन्त्री नेतन्याहुले पटकपटक अस्वीकार गर्दै आएका छन्। नेतन्याहु हाल आन्तरिक दबाबमा छन् भने अमेरिकी प्रशासनमा पनि उनको अडानप्रति असन्तुष्टि देखिएको छ।

इजरायली प्रधानमन्त्री कार्यालयले पनि एक वक्तव्य जारी गर्दै अमेरिकाको माध्यमबाट अलेक्जेन्डर रिहा हुने जानकारी प्राप्त भएको जनाएको छ।

यदि ट्रम्पको भ्रमण अवधिभित्र सम्झौता हुन सकेन भने, इजरायलले हमासविरुद्ध सैन्य आक्रमण थप विस्तार गर्ने चेतावनी दिइसकेको छ। इजरायली योजना अनुसार गाजाको सम्पूर्ण भूभाग कब्जा गर्ने, प्यालेस्टिनीलाई दक्षिणतर्फ सार्ने, र सहायता वितरण निजी कम्पनीमार्फत गराउने योजना रहेको बताइएको छ। यद्यपि संयुक्त राष्ट्रसंघ तथा मानवीय साझेदारहरूले त्यसमा सहकार्य नगर्ने बताएका छन्।

गाजामा इजरायली नाकाबन्दीका कारण खाद्यान्न र औषधिको चरम अभाव छ। संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म करिब १०,००० बालबालिका गम्भीर कुपोषणमा छन् र खाद्यान्नको मूल्य १,४०० प्रतिशतसम्म बढेको छ। मार्चको मध्यदेखि इजरायलले पुनः आक्रमण तीव्र बनाएको छ। हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५२,८२९ जना प्यालेस्टिनीको मृत्यु भएको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once