Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

रवि लामिछाने रुपन्देही कारागारबाट डिल्लीबजार सारिँदै

spot_img

काठमाडौं,२१ जेष्ठ ।  सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं ल्याउने इच्छा व्यक्त गरेका छन् ।

लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको छ । जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए ।

पहिले पनि लामिछानेलाई सरुवा हुन चाहे/नचाहेको बारे सोधिएको थियो । त्यसबेला उनले आफूलाई रुपन्देहीमै ठिक भएको बताएका थिए । कारागार प्रशासनका एक अधिकारीका अनुसार, आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।

‘अहिले पार्टीका नेताहरु र परिवारसँग भेटघाटका लागि समेत अफ्ठ्यारो हुने भएपछि कारागार सरुवाबारे छलफल भएको थियो’, रास्वपा स्रोतले पनि भन्यो, ‘काठमाडौंमा भेटघाटका लागि समेत सहज हुने अपेक्षा हो ।’

गृह मन्त्रालयका एक अधिकारीका अनुसार, अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजिकरण गरिदिन भनेको थियो । लामिछानेलाई गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङे समेत रहेको डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राख्ने गरी तयारी छ ।
‘अहिले सरुवाका लागि उहाँहरुले जिल्ला अदालत, रुपन्देहीबाट समेत अनुमति लिइसक्नु भएको छ’, ती अधिकारी अनलाइनखबरसँगले भने, ‘कारागार प्रशासनसँगै सरुवाका लागि जिल्ला प्रशासन कार्यालयको समेत आदेश आवश्यक पर्छ, त्यो सबै प्रक्रिया सकिएर निर्णयका लागि कारागार व्यवस्थापन विभागमा पठाइएको छ ।’

विभागबाट निर्णय भएलगत्तै लामिछानेलाई डिल्लीबजार कारागार पठाइने स्रोतले अनलाइनखबरसँग बताएको छ । डिल्लीबजार कारागार स्रोतले पनि पूर्वगृहमन्त्री समेत रहेका लामिछाने सरुवा भएर आउने भएपछि बस्ने व्यवस्थाका लागि तयारी थालिएको बताएको छ ।

डिल्लीबजार कारागारमा अहिले ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङेले समेत कैद सजाय काटिरहेका छन् । लामिछानेलाई पनि मनाङ्गे रहेको ‘ख’ ब्लकमा राख्ने गरी तयारी गरिएको डिल्लीबजार कारागार स्रोत बताउँछ । कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने हालसम्म लामिछानेलाई काठमाडौंमा ल्याउनेबारे निर्णय भइनसकेको बताए । उनले भने, ‘हालसम्म उहाँ भैरहवामै हुनुहुन्छ, थप निर्णय भएपछि मात्र बताउन मिल्ला ।’

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २२ चैत २०८१ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतले १३ माघ २०८१ मा एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर गरेपछि लामिछाने काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए ।

पछि लामिछाने पत्नी निकिताले उनलाई थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । तर, सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो ।

सर्वोच्चको यो आदेशसँगै कम्तिमा जिल्ला अदालत, रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिएसम्म उनी थुनामा रहने भएका छन् । यस्तोमा हिरासत बसाइ लम्बिने बुझेपछि उनले सरुवा भएर काठमाडौं चाहेको अधिकारीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once