Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

खोल्साको टिम्मुर लोभलाग्दो आम्दानी

spot_img

म्याग्दी,१७ जेष्ठ । म्याग्दीका किसानले ख्यालख्यालैमा सुरु गरेको टिम्मुर खेती लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ। यहाँका गाउँमा किसानले कतै बिरूवा उमारेर टिम्मुर खेती गरेका छन् भने कतै खोल्साखाल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आम्दानी गरिरहेका छन्।

आयुर्वेदिक चिकित्सामा टिम्मुरलाई धेरै रोगको औषधि मानिन्छ। यसको अचारले खानाका परिकारलाई स्वादिष्ट बनाइदिन्छ। त्यसैले बजारमा टिम्मुर प्रतिकिलो आलोमा रू तीन सयदेखि पाँच सय र सुकाएको रू एक हजार पाँच सयदेखि रू दुई हजारसम्म बिक्री हुने गर्दछ।

यस्तो बहुउपयोगी टिम्मुरको महत्व बुझेपछि यहाँका किसानले व्यावसायिक रूपमा नै टिम्मुर खेती सुरु गरेका हुन्। पाखो जग्गामा मात्रै होइन खेतीयोग्य जग्गामा समेत टिम्मुर लगाएका कृषकले टिम्मुरको फल बिक्री गरेर वार्षिक रू दुई लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन् ।

जिल्लाका सबैजसो स्थानीय तहमा टिम्मुरखेती हुन्छ । यहाँका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका लेकाली तथा बेसी क्षेत्र र बेनी नगरपालिका- ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्ले खेतलगायत ठाउँमा व्यावसायिक रूपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले टिम्मुरखेती यहाँका कृषकहरूको लागि आम्दानीको माध्यम बन्दै गएको बताए । उनका अनुसार जिल्लामा वार्षिक करिब तीन हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको छ। टिम्मुर खेतीको व्यावसायिक उत्पादन गरिरहनुभएका अगुवा कृषक लालबहादुर घर्तीले टिम्मुर ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ लोकोक्तिसँग मिल्ने महत्वपूर्ण वनस्पति भएको बताउँछन्। उनले नर्सरी स्थापना गरेर टिम्मुरका बिरूवा बिक्री गर्दै आएका छन्। टिम्मुर बिक्री गरेर गत वर्ष रू चार लाख ८६ हजार आम्दानी गरेका घर्तीले यसवर्ष टिम्मुर खेती विस्तार गरेको बताए।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा २० वटा समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको छ। जेठमा फल लाग्न सुरू हुने यो वनस्पति भदौ–असोजमा पाक्ने गर्छ र टिपेर सुकाएपछि बिक्रीका लागि योग्य हुन्छ। म्याग्दीमा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once