Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

spot_img

दाङ,१३ जेष्ठ । दङ्गीशरण गाउँपालिका–६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो। चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकै पटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ।

घरछेउमा बनेको ट्याङ्कीबाट घरघरमा पानी आउन थालेपछि चौधरीको दैनिकी अहिले फेरिएको छ । सहज रूपमा खानेपानी पाउन थालेपछि दैनिकी सहज बनेको भन्दै उनले खुशी व्यक्त गरिन्। ‘धाराको पानी प्रयोग गर्न थालेपछि समयको बचत भएको छ। करेसाबारीमा तरकारी खेती गरेर घरमा खान पुग्ने उत्पादन भइरहेको छ’, उनले भनिन्।

सोही ठाउँकी बुधनी चौधरीले घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन सजिलो भएको बताइन्। ‘एक घर, एक धारा’ अभियानअन्तर्गत एक वर्षअघि खानेपानी योजना निर्माण सम्पन्न भएपछि गाउँका घरघरमा पानीको सुविधा पुगेको हो।

बुधनीले भनिन्, ‘खानेपानीका लागि गाउँभरिमा एउटा इनार थियो, पानी थाप्दा कहिलेकाहीँ त तछाडमछाड भएर झगडा हुन्थ्यो। घरमा नयाँ धारा बनेसँगै अब यो समस्या सधैँलाई समाधान भएको छ। गर्मी मौसममा खानेपानीको मुहान सुक्ने र खानेपानीका लागि गाग्री बोकेर खोलाखोला हिँड्नुपर्ने सास्ती हटेको छ ।’

दङ्गीशरण–६ बागर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेशम वलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोग र स्थानीयको जनसहभागितामा बोरिङ खनेर पाइप विस्तार गरी घरघरमा पानी वितरण भइरहेको जानकारी दिए । दैनिक दुई घण्टा पानी वितरण गर्दै आइएको भन्दै उनले पानी भण्डारण गर्ने ट्याङकी नहुँदा केही समस्या भएको बताए।

‘दुई सय परिवारले पानीका लागि निवेदन दर्ता गरेका छन्, अहिले एक सय ८६ परिवारले सुविधा लिइरहेका छन् भने अरु प्रक्रियामा छन् । मिटर जडान नगरिएकाले मासिक रु दुई सय उपभोक्ताले महसुल तिर्ने गरेका छन्’, अध्यक्ष वलीले भने । दङ्गीशरण–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले बोरिङ पाइपमार्फत वडावासीलाई पानीको सुविधा पुर्‍याइएको बताए। ‘चुनावमा एक घर एक धारा दिने भनी मत मागेका थियौँ, सोहीअनुरुप पानी पुर्‍याउन थालेका छौँ, पानीको सुविधा पुगे पनि पूर्वाधार नहुँदा समस्या भएको छ। पानीको ट्याङ्की छैन, पानी भण्डारणका समस्या छ’, उनले भने।

संघ र प्रदेश सरकारले संरचना निर्माणमा सहयोग गरेमा स्थानीय सरकारलाई केही सहयोग हुने वडाध्यक्ष शाहको भनाइ छ । स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भइरहेको भन्दै उनले संघीय र प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे । खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानी मानिसको पहिलो आवश्यकता भएकाले सबै नागरिकलाई सहज पानी पुर्‍याउने पहल गरिएको बताए। ‘केही खानेपानी आयोजना स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाइएको र केहीमा बजेट अभावका कारण समयमा काम हुन सकेको छैन’, उनले भने ।

बहुवर्षीय योजना निर्माणमा बढी समय, जनशक्ति लाग्ने भएकाले तत्काल सबैलाई पानी पुर्‍याउन नसकिएको न्यौपानेले बताए । ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै सबैलाई स्वच्छ पानी पुर्‍याउने लक्ष्यसहित अघि बढेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once