Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
19.1 C
Kathmandu

जलविद्युतमा फ्रान्सेली लगानी बढाउन इप्पानको पहल

spot_img

काठमाडौं,३१ वैशाख । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ‘फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा तीव्र रुपमा बढ्दो ऊर्जा मागलाई पूरा गर्न नेपालको जलविद्युत् स्रोत महत्वपूर्ण हुने उल्लेख गर्दै, बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरे।

उनका अनुसार, सन् १९९९ अघिसम्म नेपालको कुल विद्युत् उत्पादन क्षमता केवल २५० मेगावाट थियो। तर, निजी क्षेत्रको संलग्नतासँगै आज देशले ३,५०० मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको छ, जसमा ८० प्रतिशत अर्थात् २,८०० मेगावाट निजी क्षेत्रको योगदान रहेको छ।

फ्रान्सले विगतमा नेपालको ऊर्जा क्षेत्रमा दिएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै, कार्कीले द्विपक्षीय सम्बन्ध, वित्तीय स्रोत, प्राविधिक सहायता तथा संस्थागत विकासमा फ्रान्स र नेपालको सहकार्यले ऊर्जा क्षेत्रमा सशक्त साझेदारी बनाएको बताए। उनले भने, यस्ता साझेदारहरूले दिगो, समावेशी तथा जलवायु प्रतिरोधी ऊर्जा प्रणाली निर्माणमा सघाउ पुर्‍याइरहेका छन्।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को वित्तीय संरचनामा फ्रान्सले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै, उनले फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको जानकारी दिए। यस आयोजना मार्फत नेपालको ऊर्जा आपूर्ति प्रणाली थप मजबुत हुने विश्वास व्यक्त गरियो।

साथै, सन् २०२५ मा फ्रेन्च दूतावास, नेपाल विद्युत् प्राधिकरण र ब्लु वाटर इन्टेलिजेन्सबीचको सहकार्यमा शुरू भएको ‘हाइड्रो नेपाल’ परियोजनाले कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणमार्फत नदी प्रणालीको डिजिटलिकरण तथा जलवायु पूर्वानुमान क्षमतामा सुधार ल्याउन सहयोग गरिरहेको उनले बताए।

कार्कीले यस्तै मोडेलमा कार्बन व्यापार, सीमापार ऊर्जा कारोबार, र अनुसन्धानका क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा राखे। उनका अनुसार, नेपालमा व्यवसाय–व्यवसाय तथा सार्वजनिक–निजी साझेदारी दुबै मोडेलमा काम गर्ने प्रशस्त सम्भावना छ। यस्ता साझेदारीहरू प्रविधि स्थानान्तरण, परामर्श सेवा, परियोजना विकास, हरित वित्तपोषण र नवप्रवर्तन प्रवर्द्धनमा उपयोगी हुनेछन्।

फ्रेन्च कम्पनीहरूको जलविद्युत् उपकरण निर्माण, स्मार्ट ग्रिड प्रणाली र इन्जिनियरिङ सेवामा रहेको विशेषज्ञता नेपालका लागि उपयुक्त हुने उल्लेख गर्दै उनले भने, यस्ता सहकार्यहरूले रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान पुर्‍याउने र अत्याधुनिक प्रविधिको हस्तान्तरण सम्भव बनाउनेछन्।

सरकारले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भन्दै, कार्कीले सो महत्त्वाकांक्षी योजनामा प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने तयारी भइरहेको बताए। यो लक्ष्यअनुसार १५,००० मेगावाट भारत निर्यात गरिने र बाँकी १३,५०० मेगावाट देशभित्र प्रयोग गरिनेछ।

झन्डै ४६ अर्ब अमेरिकी डलरको लगानी अनुमान गरिएको यो योजनाले बीमा, बैंकिङ, पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रहरूमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि ठूलो अवसर प्रदान गर्ने उनले बताए। यस प्रक्रियालाई सहज बनाउन इप्पानले सहजीकरणको भूमिका खेल्ने कार्कीको भनाइ थियो।

उनले ऊर्जा व्यापार, संयुक्त लगानी, इक्विटी तथा ऋण लगानी, विशेषज्ञता प्रयोग, नवीकरणीय ऊर्जा प्रविधि विस्तार, ज्ञान र क्षमता विकास, अनुसन्धान, नीति समर्थन, जलविज्ञान पूर्वानुमान, डिजिटल सञ्चालन, स्मार्ट ग्रिड आधुनिकीकरण, कार्बन व्यापार, परामर्श र परियोजना व्यवस्थापनजस्ता थुप्रै सम्भावनाहरू उल्लेख गरे।

अन्तमा, आगामी असोज १ र २ गते हुने ‘पावर समिट २०२५’ मा सहभागिता जनाउन आग्रह गर्दै, नेपाललाई क्षेत्रीय ऊर्जा आपूर्ति केन्द्रका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको जोड थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once