Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
21.1 C
Kathmandu

छात्रवृत्तिमा चलखेल: नक्कली विद्यार्थी देखाएर रकमको दुरुपयोग

spot_img

जनकपुर,३० वैशाख । विद्यालय शिक्षामा देखिएको बढ्दो अव्यवस्था र गुणस्तरको गिरावटलाई मध्यनजर गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालयहरूमा अनुगमन प्रक्रिया सुरु गरेका छन्। यसै क्रममा मंगलबार उनले धनुषाको हँसपुर नगरपालिकामा रहेका दुई विद्यालयको निरीक्षण गरे।

वडा नम्बर २ मा अवस्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा निरीक्षण गर्दा केही विद्यार्थीहरूको नाम सरकारी विद्यालयमा दर्ता भए तापनि ती विद्यार्थीहरू वास्तवमा निजी विद्यालयमा अध्ययनरत रहेको पत्ता लाग्यो। यस्तो अवस्थामा विद्यालयले नक्कली विवरण प्रयोग गरेर छात्रवृत्ति र खाजा खर्चका लागि प्राप्त हुने सरकारी रकमको दुरुपयोग गरिरहेको भेटियो।

शिक्षाविद् गुरु सुवेदीले यस घटनालाई “प्रत्यक्ष भ्रष्टाचार”को संज्ञा दिँदै तीव्र आलोचना गरे। उनले नक्कली विद्यार्थी देखाएर रकम निकाल्नु आपराधिक कार्य भएको स्पष्ट पार्दै सम्बन्धित शिक्षक तथा कर्मचारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइनु पर्ने बताए।

मुख्यमन्त्री सिंहले समेत घटनालाई गम्भीर रूपमा लिँदै प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोमार्फत सम्बन्धित निकायहरूसँग आवश्यक पत्राचार गर्न निर्देशन दिएका छन्। उनका अनुसार विद्यालयहरूले नक्कली विवरण प्रस्तुत गरी न केवल छात्रवृत्ति र खाजा खर्चका लागि रकम प्राप्त गरिरहेका छन्, तर पूर्वाधार विकासको नाममा समेत सरकारी स्रोतको दुरुपयोग भइरहेको छ।

यस्तै, उनले वडा नम्बर ८ मा रहेको श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको समेत अनुगमन गरे, जहाँ शौचालयको व्यवस्था नै नरहेको पाइएको थियो। यसमा उनले नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डललाई तत्काल शौचालय निर्माणको पहल गर्न निर्देशन दिए। उपप्रमुख मण्डलले शौचालय निर्माणका लागि बजेट छुट्टाइसकेको जानकारी दिँदै यो वर्षभित्र निर्माण कार्य सम्पन्न हुने बताइन्।

यसभन्दा अगाडि एक महिनाअघि नै प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयले १३६ पालिकालाई पत्र पठाई सामुदायिक विद्यालयहरूको शिक्षणस्तर सुधार गर्न आग्रह गरिसकेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once