विराटनगर,२८ वैशाख । झापा, मोरङ र सुनसरी जिल्लामा शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार तीनै घटनामा एकै दिनमा तीन जनाको मृत्यु भएको हो। झापाको दमक नगरपालिका–१ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ। रवि स्टेण्ड गेट नजिक बेलडाँगीबाट दमकतर्फ जाँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको मे८प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक ताप्लेजुङको दोभानका २२ वर्षीय अंकीत लिम्बुको ज्यान गएको हो। स्कुटरको पछाडि सवार पाचँथर मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन्, जसको अहिले बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ। घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ।
मोरङको ग्रामथान गाउँपालिका–२ बतराहीमा इँटा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। आरएमसी इँटा उद्योगबाट इँटा लोड गरेर निस्किएको को१त ७४२५ नम्बरको ट्र्याक्टर खेतमा पल्टिएको थियो। खेतमा फसेको ट्र्याक्टरलाई पछाडिबाट धकेल्ने क्रममा जेसीबीले धक्का दिँदा ट्र्याक्टरको इन्जिन उठेर इँटा लोड गरिएको भागमा ठोक्किएको थियो। यस दुर्घटनामा ट्र्याक्टर चालक, कटहरी गाउँपालिका–५ का २० वर्षीय राहुल सरदार गम्भीर घाइते भए। कोशी अस्पतालमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। प्रहरीका अनुसार यो दुर्घटना पनि चालकको लापरवाहीकै कारण भएको हो। जेसीबी चालकसमेत फरार छन्।
त्यस्तै, सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा शनिबार दिउँसो भ्यान दुर्घटना हुँदा नेपाल प्रहरीका असई विरोध खतिवडाको ज्यान गएको छ। प्र.२–०१–००१ च.०२५१ नम्बरको भ्यान इटहरीबाट विराटनगरतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडक किनारको बारमा ठोक्किएको थियो। उदयपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत त्रियुगा नगरपालिका–८, राजाबासका ३० वर्षीय असई खतिवडालाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। तीमध्ये चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय भ्यान चालक सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की सामान्य घाइते भएको प्रहरीले जनाएको छ।





