वीरगंज,२७ वैशाख । वीरगंज महानगरपालिका–१६, नगवामा करिब ४ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण हुने खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास गरिएको छ।
शनिबार संघीय खानेपानी मन्त्री प्रदीप यादवले उक्त ट्यांकी निर्माणको औपचारिक शिलान्यास गरे। कार्यक्रममा बीरगन्ज महानगरपालिकाका मेयर तथा नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य राजेशमान सिंहसहित विभिन्न राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको उपस्थिति थियो।
खानेपानी मन्त्रालयअन्तर्गतको नगवा खानेपानी योजनाअनुसार निर्माण हुने सो ट्यांकीको क्षमता ४५० घनमिटर रहनेछ।
शिलान्यास कार्यक्रममा मन्तव्य दिँदै मन्त्री यादवले ट्यांकी निर्माणपश्चात् नगवा तथा आसपासका क्षेत्रका बासिन्दाले शुद्ध, सुरक्षित र नियमित खानेपानी प्राप्त गर्ने विश्वास व्यक्त गरे। “खानेपानीजस्तो आधारभूत सेवा प्रत्येक नागरिकसम्म पुर्याउनु सरकारको पहिलो जिम्मेवारी हो,” उनले भने, “यो योजना तोकिएको समयमै सम्पन्न हुनेछ भन्ने मलाई भरोसा छ।”
महानगर प्रमुख सिंहले पनि ट्यांकी बनेपछि वडा नं. १६ का स्थानीयले सजिलै शुद्ध पानी पाउने जानकारी दिए। उनले परियोजना अघि बढाउन सहयोग पुर्याएकोमा मन्त्री यादवप्रति आभार व्यक्त गरे।
वडा सदस्य लवंगी देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, जसपा पर्साका अध्यक्ष सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपाका केन्द्रीय सदस्य पुरषोत्तमलाल झा, मधुमाया यादव, संघीय परिषद सदस्य असलम आलम, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, र वीरगन्ज–१५ का वडाध्यक्ष रमेश यादवसहित अन्य व्यक्तिहरूको सहभागिता थियो।





