इजरायली सेनाले यमनको राजधानी सानामा रहेको मुख्य विमानस्थललाई “पूर्ण रूपमा निष्क्रिय” बनाइएको दाबी गरेको छ। उक्त विमानस्थल हाल हुथी विद्रोहीहरूको नियन्त्रणमा छ।
समाचार एजेन्सीहरूका अनुसार, मंगलबार गरिएको हवाई आक्रमणमा तीनवटा नागरिक विमान, प्रस्थान कक्ष, धावनमार्ग तथा एक सैन्य एयर बेसलाई लक्षित गरिएको थियो। एक अधिकारीले बताए अनुसार आक्रमणले विमानस्थललाई “पूर्ण रूपमा ध्वस्त” बनाएको छ। हुथी विद्रोही समूहले आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाउँदै इजरायलविरुद्ध कडा प्रतिक्रिया जनाउने चेतावनी दिएको छ। यो आक्रमण त्यसको दुई दिनपछि भएको हो, जब हुथीहरूले इजरायलको मुख्य विमानस्थल नजिकै मिसाइल प्रहार गरेका थिए, जसका कारण विमानस्थल केही समयको लागि बन्द गर्नुपरेको थियो।
इजरायलले सोमबार यमनको हुडायदाह बन्दरगाहमा आक्रमण सुरु गरेपछि मंगलबार साना विमानस्थललाई निशाना बनाएको हो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलमाथि आक्रमण गर्नेहरूलाई जिम्मेवार बनाउने चेतावनी दिएका छन्। उनले एक भिडियो सन्देशमार्फत भने, “हामीमाथि आक्रमण गर्नेले आफ्नो रगतको जिम्मेवारी लिनुपर्नेछ। हामी कहिले, कहाँ र कसरी जवाफ दिने भन्ने निर्णय आफैं गर्छौं।”
हुथी नेताहरूले इजरायली आक्रमणलाई “असफल आतंकी प्रयास” भन्दै गाजाको समर्थन जारी रहने र नेतान्याहुले राजीनामा दिनुपर्ने माग गरेका छन्। एक विमानस्थल अधिकारीले बताए अनुसार नष्ट गरिएका तीन वटै विमान यमेनीया एयरलाइन्सका थिए। इजरायली रक्षा सेनाले साना विमानस्थलका धावनमार्ग, विमानहरू र “प्रयोगमा रहेका संरचना” मा हमला गरिएको दाबी गर्दै, हुथीहरूले त्यहाँबाट हतियार तथा लडाकुहरूलाई स्थानान्तरण गरिरहेको आरोप लगाएको छ।इजरायली सेनाले राजधानी सानामा रहेको ऊर्जा आपूर्तिसम्बन्धी पूर्वाधार र उत्तर सानामा रहेको अल-इमरान सिमेन्ट कारखानामा पनि आक्रमण गरेको बताएको छ। यसअघि सोमबार इजरायलले हुडायदाह बन्दरगाहमा हमला गर्दा अर्काे सिमेन्ट कारखाना पनि लक्षित गरिएको थियो।
हुडायदाह बन्दरगाह यमनको दोस्रो ठूलो रेड सी पोर्ट हो, जहाँबाट देशको करिब ८०% खाद्य आपूर्ति भित्रिन्छ। हुथी पक्षले सोमबारको आक्रमणमा चार जनाको मृत्यु र ३५ जना घाइते भएको जनाएको छ। उनीहरूले अमेरिकालाई पनि उक्त आक्रमणमा संलग्न रहेको आरोप लगाए तापनि अमेरिकी रक्षा अधिकारीहरूले आफूहरू सहभागी नभएको बताएका छन्।हुथीहरूले आइतबार इजरायलको बेन गुरियन विमानस्थलतर्फ प्रक्षेपण गरेको मिसाइल मुख्य टर्मिनल नजिकै खसेको थियो जसमा ६ जना घाइते भएका थिए। त्यसपछि हुथी समूहले इजरायलमाथि “पूर्ण हवाई नाकाबन्दी” लागू गर्ने चेतावनी दिएको छ। इजरायलले यसअघि पनि यमनमा हुथी नियन्त्रणमा रहेका क्षेत्रहरूमा बारम्बार आक्रमण गरेको छ, जसमा साना विमानस्थल, ऊर्जा केन्द्र तथा प्रमुख बन्दरगाहहरू समावेश छन्। सभार:समाचार एजेन्सी





