अवैध औषधि बिक्रीको सूचनापछि वीरगंजमा छापा, एक जना नियन्त्रणमा

spot_img

वीरगंज,३१ साउन । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । अवैध औषधि बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एबी क्यारियर्सको गोदाममा छापा मारेर विभिन्न प्रकारका औषधिसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३ बजे विशेष सूचनाका आधारमा प्रहरी टोली एबी क्यारियर्सको गोदाममा पुगेको थियो । प्रहरीले गोदाममा चेकजाँच गर्ने क्रममा विभिन्न प्रकारका औषधि फेला पारेपछि एबी क्यारियर्सका सञ्चालक वीरगंज महानगरपालिका–१६ निवासी ४२ वर्षीय राजेश यादवलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गोदामबाट हिम क्याम–एमपी मल्टी डोज भेट १६८ पिस, लिलिभम्याक्स भेट इन्जेक्सन ८४० पिस र हिमहिल हर्बल स्प्रे २९५ थान बरामद गरिएको छ ।

बरामद गरिएका औषधिको अनुमानित मूल्य ४ लाख १९ हजार ४ सय १० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले अवैध रूपमा औषधि बिक्री–वितरण भइरहेको सूचनाका आधारमा गोदाममा चेकजाँच गरेको जनाएको छ । चेकजाँचका क्रममा औषधि फेला परेपछि सञ्चालक यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको हो । नियन्त्रणमा लिइएका यादवलाई बरामद औषधिसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगंज, पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले बरामद भएका औषधिको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once