नेपालको हित केन्द्रमा राखेर सन्धि–सम्झौता पुनरावलोकन गरिने : परराष्ट्रमन्त्री खनाल

spot_img

काठमाडौँ,२५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै मन्त्री खनालले नेपालसँग भएका विभिन्न सन्धि–सम्झौतालाई समयसापेक्ष बनाउने विषयमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय कानुन तथा कूटनीतिक प्रचलनअनुसार कुनै पनि द्विपक्षीय वा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर रहने स्पष्ट पारे।

मन्त्री खनालका अनुसार नेपालले आफ्ना राष्ट्रिय हित र आवश्यकतालाई ध्यानमा राखेर सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उपयुक्त समयमा सन्धि–सम्झौताको पुनरावलोकन गर्ने नीति लिएको छ। सन्धि–सम्झौताको पुनरावलोकनको विषयमा सरकारको प्रतिबद्धता स्पष्ट पार्दै उनले आवश्यकताअनुसार सम्बन्धित पक्षसँग कूटनीतिक माध्यमबाट संवाद र सहकार्य अघि बढाइने बताए।

‘सन्धिसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको सामान्य सिद्धान्तबमोजिम कुनै पनि द्विपक्षीय वा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण सम्बन्धित पक्षराष्ट्र वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समेत आपसी सहमति र स्वीकृतिमा निर्भर रहने अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रचलन छ,’ मन्त्री खनालले संसदमा भने। उनका अनुसार नेपाल सरकारले सन्धि–सम्झौताको पुनरावलोकनलाई केवल औपचारिक प्रक्रियाका रूपमा नभई नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर अघि बढाउनेछ।

‘सन्धि–सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकताअनुसार सम्बन्धित मित्रराष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ,’ उनले भने। मन्त्री खनालले मन्त्रालयले सन्धि–सम्झौताको समीक्षा तथा पुनरावलोकनको कामलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन आधार तथा प्राथमिकता निर्धारण गरी कार्य अघि बढाइरहेको जानकारी दिए।

उनका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित अन्य मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका सन्धि–सम्झौताको समीक्षा गर्ने काम निरन्तर भइरहेको छ। यसका लागि सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय र सहकार्य भइरहेको उनले बताए। त्यसैगरी, सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट वार्ता अघि बढाउने कामसमेत भइरहेको मन्त्री खनालले जानकारी दिए। पारस्परिक सहमति कायम भएका सन्धि–सम्झौतालाई अन्तिम रूप दिने प्रक्रिया पनि अघि बढिरहेको उनको भनाइ छ।

‘कानुन मन्त्रालय, परराष्ट्र र सम्बन्धित सबै मन्त्रालयसँग समेतको अधिकार क्षेत्रमा रहेको सन्धि–सम्झौताहरूलाई समीक्षाको लागि निरन्तर सहकार्य भइरहेको छ। सम्बन्धित पक्षराष्ट्र र संस्थासँग कूटनीतिक माध्यमबाट वार्ता अगाडि बढाई पारस्परिक सम्झौता भएका सन्धिहरूलाई अन्तिम रूप दिने कार्य समेत भइरहेको छ,’ उनले भने। सन्धि–सम्झौताको समीक्षा र पुनरावलोकनका लागि उपलब्ध जनशक्ति तथा साधनस्रोतलाई ध्यानमा राखेर प्राथमिकता निर्धारण गरिएको पनि मन्त्री खनालले बताए। उनले मन्त्रालयले वार्षिक कार्ययोजनाअनुसार सन्धि–सम्झौताको समीक्षा, वार्ता तथा त्यसबाट भएका प्रगतिको काम नियमित रूपमा अघि बढाइरहेको जानकारी दिए।

मन्त्री खनालका अनुसार सीमित जनशक्ति र साधनस्रोतका बाबजुद आवश्यक प्राथमिकता तोकेर सन्धि–सम्झौतासम्बन्धी कार्यलाई व्यवस्थित रूपमा अगाडि बढाइएको छ। वार्षिक कार्ययोजनाअनुसार भएका कामको प्रगति समेत नियमित रूपमा समीक्षा भइरहेको उनले बताए।

नेपालका लागि महत्वपूर्ण रहेका द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको आवश्यकता र प्रभावका आधारमा समीक्षा गर्दै सम्बन्धित पक्षसँग आपसी सहमतिका आधारमा अघि बढ्ने सरकारको नीति रहेको मन्त्री खनालले संसदमा स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once