सिद्धार्थ बैंकका सीईओ बस्याल : डिजिटल बैंकिङसँगै साइबर सुरक्षालाई प्राथमिकता

spot_img

काठमाडौं,२५ साउन । बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध भए पनि कर्जा माग अपेक्षाकृत सुस्त रहेको अवस्थामा बैंकहरूले कर्जा विस्तारसँगै सम्पत्तिको गुणस्तर र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्न थालेका छन्। घट्दो ब्याजदरले लगानी र कर्जा माग बढ्ने अपेक्षा गरिए पनि निजी क्षेत्रको आत्मविश्वास, उपभोग, निर्माण तथा नयाँ लगानी अपेक्षित गतिमा अघि नबढ्दा कर्जा विस्तारमा चुनौती देखिएको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वरप्रसाद बस्यालले बताएका छन्।

बस्यालका अनुसार अहिलेको आर्थिक परिवेश मिश्रित रहेको छ। एकातर्फ प्रणालीमा उपलब्ध अधिक तरलता र ब्याजदरमा आएको सहजताले लगानी तथा कर्जा माग पुनर्जीवित गर्ने अवसर दिएको छ भने अर्कोतर्फ आर्थिक गतिविधिमा अपेक्षित सुधार नहुँदा कर्जा विस्तारमा दबाब कायमै छ। उनले बैंकका लागि अबको प्राथमिकता कर्जाको मात्रा बढाउनु मात्र नभई गुणस्तरीय कर्जा विस्तार गर्नु रहेको बताए। उनका अनुसार सही ग्राहक, सही क्षेत्र, सही संरचना र सही मूल्य निर्धारणसहितको कर्जा विस्तारले मात्रै बैंकलाई दीर्घकालीन रूपमा सबल बनाउन सक्छ।

डिजिटल बैंकिङमा जोड, सुरक्षालाई पहिलो प्राथमिकता

युवा पुस्ता डिजिटल बैंकिङको सबैभन्दा गतिशील र सचेत ग्राहक समूह रहेको बताउँदै बस्यालले सिद्धार्थ बैंकले डिजिटल बैंकिङलाई वैकल्पिक माध्यमका रूपमा मात्र नभई दिगो बैंकिङको आधारभूत आवश्यकताका रूपमा लिएको बताए। बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, अनलाइन खाता खोल्ने सुविधा, कार्ड सेवा, डिजिटल भुक्तानीलगायतका सेवाको विकास, विस्तार र निरन्तर परिमार्जन गर्दै आएको उनले बताए। उनका अनुसार नयाँ डिजिटल सुविधा थप्नु मात्रै पर्याप्त हुँदैन। ग्राहकले पहिलोपटक प्रयोग गर्दा सहजै बुझ्न सक्ने इन्टरफेस, न्यून कारोबार समय, तत्काल सूचना तथा समस्या पर्दा शीघ्र सहयोग पाउने व्यवस्था पनि उत्तिकै आवश्यक हुन्छ।

सिद्धार्थ बैंकले ग्राहकको कारोबारको प्रकृति र जीवनशैलीअनुसार व्यक्तिगत सेवा उपलब्ध गराउने दिशामा डेटा विश्लेषणको प्रयोगलाई समेत अघि बढाइरहेको बस्यालले बताए। विद्यार्थी, जागिरे, स्वतन्त्र पेशाकर्मी, विदेशमा अध्ययन वा काम गर्ने परिवार, स्टार्टअप सञ्चालक तथा साना उद्यमीका वित्तीय आवश्यकता फरक हुने भएकाले सोहीअनुसार सेवा विकास गर्नुपर्ने उनको भनाइ छ। डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा, डेटा गोपनीयता र ग्राहक सचेतनालाई बैंकले पहिलो प्राथमिकतामा राखेको उनले बताए। बहुतह प्रमाणीकरण, कारोबार निगरानी, जोखिममा आधारित नियन्त्रण तथा नियमित ग्राहक सचेतना अभियानमार्फत सुविधा र सुरक्षाबीच सन्तुलन कायम गरिरहेको उनको भनाइ छ।

‘ग्राहक प्रविधिअनुकूल होइन, प्रविधि ग्राहकअनुकूल हुनुपर्छ’

डिजिटल बैंकिङ सबै भूगोल, आयस्तर र डिजिटल साक्षरताका ग्राहकले सहज रूपमा प्रयोग गर्न सक्ने बनाउनुपर्नेमा बस्यालले जोड दिए। उनका अनुसार डिजिटल समाधानको सफलता एप डाउनलोड वा कारोबारको संख्याबाट मात्रै मापन गर्न मिल्दैन। ग्राहकले आत्मविश्वासका साथ सेवा प्रयोग गर्न सके वा सकेनन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले बैंकले डिजिटल समाधान डिजाइन गर्दा सरल भाषा, न्यून कारोबार समय, स्पष्ट निर्देशन, कम ब्यान्डविथमा समेत काम गर्ने क्षमता, सुरक्षा तथा आधिकारिकतालाई प्राथमिकता दिएको उनले बताए।

सहरी क्षेत्रमा पूर्ण डिजिटल बैंकिङको प्रयोग सम्भव भए पनि ग्रामीण तथा अर्धसहरी क्षेत्रमा डिजिटल सेवा र मानवीय सहयोगको संयोजन आवश्यक रहेको उनको भनाइ छ। बैंकका शाखा, विस्तारित सेवा केन्द्र तथा ग्राहक सहायता संयन्त्रमार्फत पहिलोपटक डिजिटल सेवा प्रयोग गर्ने ग्राहकलाई सहयोग गर्दै आएको उनले बताए। गलत क्यूआर, फिसिङ, ओटीपी दुरुपयोग तथा सोसल इन्जिनियरिङबाट हुन सक्ने जोखिमबारे ग्राहकलाई नियमित रूपमा सचेत गराउनु पनि आवश्यक रहेको बस्यालले बताए।

युवा र महिला उद्यमीलाई वित्तीय पहुँचमा जोड

बस्यालले डिजिटल बैंकिङले युवा तथा महिला उद्यमीका लागि दूरी, समय र कारोबारको औपचारिक अभिलेखको अभावजस्ता चुनौती घटाउन सहयोग गर्ने बताए। डिजिटल भुक्तानी, मोबाइल बैंकिङ तथा अनलाइन सेवाको प्रयोगले साना व्यवसायको कारोबारको अभिलेख सुरक्षित रहने र त्यसले नगद प्रवाह बुझ्न, वित्तीय अनुशासन कायम गर्न तथा भविष्यमा कर्जा मूल्यांकन गर्न सहयोग पुग्ने उनको भनाइ छ। सिद्धार्थ बैंकले महिला तथा साना–मझौला उद्यमीलाई लक्षित विभिन्न कर्जा योजनाका साथै वित्तीय परामर्श र डिजिटल कारोबारमा जोड्ने प्रयास गर्दै आएको उनले बताए। ‘बैंकको दृष्टिकोण केवल कर्जा उपलब्ध गराउने होइन, व्यवसायको आवश्यकता, नगद प्रवाह, बजार सम्भावना र व्यवस्थापकीय क्षमता बुझेर दीर्घकालीन साझेदार बन्ने हो,’ बस्यालले भने। उनका अनुसार वित्तीय समावेशीकरणलाई खाता खोल्ने संख्यामा मात्रै सीमित गर्न हुँदैन। खाता सक्रिय छ कि छैन, डिजिटल कारोबार भइरहेको छ कि छैन, बचत गर्ने बानी विकास भएको छ कि छैन र उद्यमीले आफ्नो व्यवसाय विस्तारका लागि वित्तीय सेवा उपयोग गर्न सकेका छन् कि छैनन् भन्ने विषय पनि महत्वपूर्ण हुन्छ।

निष्क्रिय कर्जा बढ्दा जोखिम व्यवस्थापनमा जोड

बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढिरहेको अवस्थामा सिद्धार्थ बैंकले कर्जा जोखिम न्यूनीकरणका लागि कर्जा प्रस्ताव तयार हुने चरणदेखि स्वीकृति, वितरण, अनुगमन र पुनर्भुक्तानीसम्मको सम्पूर्ण कर्जा जीवनचक्रलाई ध्यानमा राखेको बस्यालले बताए। उनका अनुसार बैंकले जोखिम लिन सक्ने सीमा, क्षेत्रगत सीमा, ग्राहक तथा समूहगत एक्सपोजर, धितोको गुणस्तर र नगद प्रवाहमा आधारित कर्जा मूल्यांकनलाई थप सुदृढ बनाउँदै आएको छ। कर्जाको भुक्तानीको प्राथमिक स्रोत व्यवसायबाट हुने आम्दानी हुनुपर्ने र धितो दोस्रो सुरक्षाका रूपमा मात्र हेर्नुपर्ने उनको धारणा छ। व्यवसायको वास्तविक नगद प्रवाह, बजार, व्यवस्थापन क्षमता तथा सम्भावित जोखिमको विश्लेषण गरेर कर्जा निर्णय गर्नुपर्ने उनले बताए। बैंकले अर्ली वार्निङ सिग्नल पहिचान गर्न डेटा आधारित अनुगमन, नियमित पोर्टफोलियो समीक्षा, खाताको व्यवहार, कारोबारमा गिरावट, किस्ता ढिलाइ तथा क्षेत्रगत तनावको विश्लेषण गर्दै आएको उनले बताए। समस्या आएपछि मात्र सक्रिय हुनेभन्दा समस्या आउनुअघि नै ग्राहकसँग संवाद सुरु गर्ने नीति बैंकले लिएको उनको भनाइ छ।

निर्माण, रियल इस्टेट र एसएमईमा दबाब

तेस्रो त्रैमाससम्म सार्वजनिक वित्तीय विवरणअनुसार सिद्धार्थ बैंकको निष्क्रिय कर्जा अनुपात बैंकिङ क्षेत्रको औसतभन्दा कम रहेको बस्यालले जानकारी दिए। तर बैंकको सम्पत्ति गुणस्तर बुझ्न निष्क्रिय कर्जा अनुपातलाई मात्र आधार बनाउन नहुने उनको भनाइ छ। नयाँ खराब कर्जा थपिने दर, असुली, प्रोभिजन कभरेज, पुनर्संरचित कर्जाको अवस्था, धितोको वास्तविक मूल्य तथा पूँजीमा पर्न सक्ने प्रभावलाई समग्र रूपमा हेर्नुपर्ने उनले बताए। समग्र बजारमा आर्थिक गतिविधिमा आएको गिरावट, उपभोग तथा लगानीमा देखिएको शिथिलता र परियोजना कार्यान्वयनमा भएको ढिलाइका कारण निर्माण क्षेत्र, रियल इस्टेटसँग सम्बन्धित व्यवसाय तथा साना–मझौला उद्यममा निष्क्रिय कर्जा केही बढेको उनले बताए। यद्यपि, एउटै क्षेत्रका सबै ग्राहकलाई समान जोखिमयुक्त मान्न नहुने उनको भनाइ छ। ग्राहकको व्यापार मोडल, ऋण संरचना, नगद प्रवाह तथा व्यवस्थापन क्षमताअनुसार जोखिम फरक हुने उनले स्पष्ट पारे।

एसएमईलाई बचाउँदै पूँजी र तरलता सन्तुलन

एसएमई क्षेत्र रोजगारी, स्थानीय उत्पादन र अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको बताउँदै बस्यालले कठिन समयमा बैंक पूर्ण रूपमा जोखिमबाट टाढा रहन खोज्दा अर्थतन्त्रको पुनरुत्थान प्रभावित हुन सक्ने बताए। अर्कोतर्फ उचित जोखिम मूल्यांकनबिना कर्जा प्रवाह गर्दा निक्षेपकर्ता र बैंकको वित्तीय स्थायित्वमा असर पर्न सक्ने भएकाले सन्तुलित दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ। बैंकले पूँजी पर्याप्तता र तरलताका नियामकीय न्यूनतम सीमासँगै आन्तरिक व्यवस्थापकीय बफर कायम राख्ने प्रयास गरिरहेको उनले बताए। एएलसीओ, स्ट्रेस टेस्टिङ, एसेट–लायबिलिटी म्याच्युरिटी मिसम्याच विश्लेषण, निक्षेप स्रोतको विविधीकरण तथा स्थिर र कम लागतको निक्षेप वृद्धिमार्फत कर्जा विस्तारका लागि सुरक्षित आधार निर्माण गर्ने प्रयास भइरहेको उनले बताए। अस्थायी दबाबमा रहेका तर आधारभूत रूपमा व्यवहार्य एसएमईलाई समयमै पहिचान गरी नियामकीय प्रावधानभित्र पुनर्तालिकीकरण, नगद प्रवाहअनुकूल किस्ता, वित्तीय परामर्श तथा डिजिटल भुक्तानीमार्फत कारोबार औपचारिकीकरणमा सहयोग गर्न सकिने उनले बताए।

डिजिटल अर्थतन्त्र, पर्यटन र ऊर्जामा अवसर

वर्तमान आर्थिक अवस्थामा डिजिटल अर्थतन्त्र, पर्यटन, जलविद्युत् तथा नवीकरणीय ऊर्जा, आयात प्रतिस्थापन, निर्यातमुखी व्यवसाय, स्वास्थ्य, शिक्षा तथा साना–मझौला उद्यममा पर्याप्त सम्भावना रहेको बस्यालले बताए। रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी लगानी र उद्यमशीलतासँग जोड्न सकिए अर्थतन्त्रको संरचनात्मक क्षमता बढाउन सकिने उनको भनाइ छ। तर सम्पत्तिको गुणस्तर, नीतिगत अनिश्चितता, परियोजना कार्यान्वयनमा ढिलाइ, अनौपचारिक अर्थतन्त्र, साइबर जोखिम तथा जलवायु परिवर्तनबाट उत्पन्न वित्तीय जोखिम भने चुनौतीका रूपमा रहेको उनले बताए। बैंकिङ क्षेत्रमा कर्जाका लागि हुने अत्यधिक प्रतिस्पर्धाले जोखिमको सही मूल्यांकनमा असर पार्न सक्ने भएकाले बजार हिस्सा बढाउने दबाबभन्दा कर्जाको गुणस्तर वृद्धिलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।

एनपीएलसँगको साझेदारीलाई ब्रान्डभन्दा फराकिलो रूपमा हेरेका छौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक रहेको विषयमा बस्यालले उक्त साझेदारीलाई केवल ब्रान्ड भिजिबिलिटी वा व्यावसायिक प्रायोजनका रूपमा नहेरेको बताए। उनका अनुसार क्रिकेटले देशका विभिन्न भूगोल, उमेर र समुदायलाई एउटै भावनामा जोड्न सफल भएको छ। विशेषगरी युवा पुस्तामा प्रतिस्पर्धा, अनुशासन, नेतृत्व, सहकार्य तथा सम्भावनामा विश्वास गर्ने संस्कार विकास गर्न क्रिकेटले योगदान पुर्‍याइरहेको उनले बताए। एनपीएलले नेपाली खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धा, अनुभव तथा पहिचान निर्माण गर्ने अवसर दिएको उल्लेख गर्दै उनले खेलकुदलाई सम्भावित पेशा र उद्यमको क्षेत्रका रूपमा समेत नयाँ पुस्ताले हेर्न थालेको बताए। बैंकको भूमिका निक्षेप र कर्जाको कारोबारमा मात्र सीमित नहुने बताउँदै उनले युवाको प्रतिभा, पहिचान, स्वस्थ मनोरञ्जन र आर्थिक गतिविधिलाई सहयोग गर्नु पनि जिम्मेवार संस्थाको दायित्व भएको बताए।

एनपीएलले खेलसँगै आर्थिक गतिविधि पनि बढाउँछ

बस्यालका अनुसार ठूलो खेलकुद प्रतियोगिताको प्रभाव खेल मैदानमा मात्र सीमित हुँदैन। प्रसारण, विज्ञापन, सामग्री निर्माण, सुरक्षा, यातायात, होटल, रेस्टुरेन्ट, स्थानीय व्यापार, इभेन्ट व्यवस्थापन तथा प्रविधिजस्ता क्षेत्रमा समेत आर्थिक गतिविधि सिर्जना हुन्छ।

यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र उद्यमका अवसर सिर्जना हुने उनले बताए।

खेलाडीबाहेक खेल विश्लेषण, फिजियोथेरापी, व्यवस्थापन, डिजिटल मिडिया, मर्चेन्डाइजिङ तथा पर्यटनजस्ता क्षेत्रमा पनि नयाँ करिअरको सम्भावना रहेको उनले बताए। प्रतियोगितासँग जोडिएका साना विक्रेता तथा सेवा प्रदायकलाई औपचारिक बैंक खाता, क्यूआर भुक्तानी, कारोबार अभिलेख र वित्तीय साक्षरतासँग जोड्न सके वित्तीय समावेशीकरणमा समेत योगदान पुग्ने उनको भनाइ छ। उनले एनपीएलमा बैंकको सहभागिता खेलकुदको विकास, युवालाई प्रेरणा, स्थानीय व्यवसायलाई चलायमान बनाउने तथा नेपालको सकारात्मक अन्तर्राष्ट्रिय छवि निर्माण गर्ने दीर्घकालीन सोचसँग जोडिएको बताए।

समग्रमा, नेपालको आधारभूत आर्थिक सम्भावना सकारात्मक रहेको बस्यालको निष्कर्ष छ। नीतिगत स्थिरता, संस्थागत समन्वय, निजी क्षेत्रको विश्वास र उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत परिचालन अहिलेको आवश्यकता रहेको बताउँदै उनले बैंकिङ क्षेत्रले अनुशासित, पारदर्शी र नवप्रवर्तनशील भूमिका खेल्न सके आर्थिक पुनरुत्थानमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने धारणा व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once