काठमाडौं,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियत र निष्ठामाथि शंका नरहेको तर राज्य सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले नेतृत्वले आफूलाई के कुरा थाहा छैन भन्ने बुझेर सिक्ने र कार्यशैली सुधार्ने प्रयास गर्नुपर्ने बताए।
उनले सबै कुरा आफूलाई थाहा छ भन्ने सोचले विकासको गति रोक्ने उल्लेख गर्दै गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईको भनाइ उद्धृत गरे। नेतृत्वले निरन्तर सिक्ने, नयाँ कुरा आत्मसात् गर्ने र सुधारका लागि तयार हुनुपर्ने उनको भनाइ थियो।
दिगो विकासका लागि मधेश, निजी क्षेत्र र प्रवासी नेपालीलाई साथ लिनुपर्ने
सांसद झाले देश विकासका लागि दिगोपन र सन्तुलन आवश्यक रहेको बताए। उनले मधेश, निजी क्षेत्र तथा विदेशमा रहेका नेपालीलाई साथमा लिएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार राज्य सञ्चालनमा सबै क्षेत्र र समुदायको विश्वास आवश्यक हुन्छ। देश निर्माणको यात्रामा सबै पक्षलाई समेटेर अघि बढेमात्र दिगो विकास सम्भव हुने उनको भनाइ थियो।
‘मधेशमा आगो निभेको छ, तर दाउरा बाँकी नै छ’
मुलुकका विभिन्न भागमा देखिएका असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै सांसद झाले मधेशको अवस्थाबारे सरकारलाई सचेत गराए। उनले भने, “मधेशमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौँ। तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभेको छैन, त्यसमा सचेत भइराख्नुस्।” राज्यको व्यवहारमा अझै विभेद र असन्तुलन कायम रहेको भन्दै उनले सीमा क्षेत्र र विमानस्थलमा नागरिकमाथि हुने फरक व्यवहारप्रति प्रश्न उठाए। उनले भने, “एयरपोर्टबाट आउने धनीलाई ब्लु लेबल र ल्यापटप ल्याउन दिइन्छ, तर मधेशको सीमामा गरिब नागरिकले २५ रुपैयाँको चिप्स ल्याउँदा समेत खोसिन्छ।” यस्तो असमान व्यवहारको सोच कहाँबाट आउँछ भन्दै उनले राज्य संयन्त्रलाई आत्मसमीक्षा गर्न आग्रह गरे।
‘गाडीको कालो सिसा हट्यो, अब आँखाको कालो चश्मा पनि हटाउनुपर्छ’
राज्य सञ्चालकहरू जनतासँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिँदै सांसद झाले सरकारको दृष्टिकोण स्पष्ट र निष्पक्ष हुनुपर्ने बताए। उनले भने, “हामीले सवारी साधनको कालो सिसा र कालो स्टिकर त हटायौँ, अब सम्भवतः आँखाको कालो चश्मा पनि हटाउनुपर्छ, त्यो अति आवश्यक छ।” उनका अनुसार सरकार र राज्य संयन्त्रले जनताको वास्तविक अवस्था बुझ्न खुला दृष्टिकोण राख्न आवश्यक छ।
निजी क्षेत्र र प्रवासी नेपालीमा विश्वास जगाउन आग्रह
सांसद झाले पछिल्लो समय निजी क्षेत्र त्रसित अवस्थामा रहेको उल्लेख गर्दै राज्यका निकाय देख्दा नागरिक तथा उद्योगी–व्यवसायी डराउनुपर्ने वातावरण अन्त्य गर्नुपर्ने बताए। प्रहरी वा अन्य राज्य संयन्त्रको उपस्थितिले डर होइन, सुरक्षाको अनुभूति गराउनुपर्ने उनको भनाइ थियो। उनले निजी क्षेत्रमा आत्मविश्वास जगाउन तथा विदेशमा रहेका नेपालीलाई विश्वासमा लिएर देश विकासमा सहभागी गराउन सरकारसँग आग्रह गरे। देशको समृद्धिका लागि सरकार, निजी क्षेत्र, मधेश, प्रवासी नेपाली र सबै समुदायबीच सहकार्य आवश्यक रहेको सांसद झाको भनाइ थियो।




