काठमाडौं,१८ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले आज पनि देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद हरिप्रसाद दाहालका अनुसार हाल बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो पनि देशका अधिकांश भूभागमा वर्षा जारी रहने सम्भावना रहेको उनले बताए। विशेषगरी पहाडी भेगका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले जारी गरेको मौसम बुलेटिनअनुसार आज बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
काठमाडौं उपत्यकामा पनि आज दिनभर वर्षाको क्रम जारी रहने सम्भावना रहेको मौसमविद दाहालले बताएका छन्। केही समयका लागि वर्षा रोकिएजस्तो देखिए पनि पुनः पानी पर्ने सम्भावना रहेकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट हुन सक्ने जोखिमप्रति विशेष सतर्क रहन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरी आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।





