काठमाडौं,१२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनपछि रिक्त रहेका केन्द्रीय सदस्य तथा पदाधिकारी चयनको प्रक्रिया अघि बढाएको छ। पार्टीको बुधबार बस्ने केन्द्रीय समिति बैठकले केही केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन गर्ने तयारी गरिरहेका बेला उपसभापति पदका लागि गृहमन्त्री सुधन गुरुङको नाम लगभग निश्चित भएको स्रोतले जनाएको छ।
पार्टी स्रोतका अनुसार उपसभापति पदका लागि बालेन्द्र शाह निकट सुनिल लम्सालले पनि दाबी प्रस्तुत गरेका थिए। तर, सभापति रवि लामिछाने भने सुधन गुरुङलाई उक्त जिम्मेवारी दिने पक्षमा सकारात्मक रहेको बताइएको छ।
रास्वपा नेतृत्वले रवि लामिछाने र बालेन्द्र शाहबीच समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने नेताका रूपमा गुरुङलाई हेरिरहेको स्रोतको भनाइ छ। साथै, उनलाई उपसभापतिको जिम्मेवारी दिँदा पार्टीको पदाधिकारी संरचना थप समावेशी बन्ने निष्कर्षसमेत नेतृत्व तहमा रहेको बताइएको छ।
रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहेको छ। यद्यपि, बुधबार बस्ने बैठकबाट सबै सदस्यको मनोनयन भने नहुने भएको छ। पार्टीमा एकता प्रक्रियामा रहेका विभिन्न पक्षलाई समेट्दै चरणबद्ध रूपमा मनोनयन गर्ने तयारी भइरहेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्।
रास्वपाको महाधिवेशनबाट सभापतिसहित सात जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। अब पार्टीमा एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्षसहित ५१ जना केन्द्रीय सदस्य मनोनयन हुन बाँकी रहेको छ।
यसैबीच, बालेन्द्र शाह समूहले पाउने भनिएको एक महामन्त्री पदका लागि भूपदेव शाह र सुदीप ढकालबीच प्रतिस्पर्धा देखिएको छ। पार्टीको प्रवक्ता पदमा प्रमोद न्यौपानेको सम्भावना बलियो रहेको स्रोतले जनाएको छ।
त्यस्तै, निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले पुनः सोही जिम्मेवारी नलिने संकेत गरेकी छन्। रास्वपाले बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्दा पार्टीभित्रको सन्तुलन, समावेशिता र विभिन्न समूहको प्रतिनिधित्वलाई ध्यान दिने तयारी गरेको छ।




