नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाइने

spot_img

वीरगंज,०९ साउन । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादको छानबिन गर्न समिति गठन गरिएको छ। घटनामा चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाही भएको आरोप लगाउँदै आफन्त र स्थानीयले विरोध प्रदर्शन गरेपछि स्थानीय प्रशासनको समन्वयमा छानबिन समिति गठन गर्ने सहमति भएको हो।

वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो। बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध जनाएका थिए। घटनालाई लिएर आफन्त तथा स्थानीय आक्रोशित बनेपछि स्थानीय प्रशासनको पहलमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, पीडित परिवार, आफन्त तथा जनप्रतिनिधिबीच वार्ता भएको थियो। वार्तापछि घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने सहमति भएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृतको नेतृत्वमा गठन गरिएको समितिमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह र जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि सदस्य रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार छानबिन समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको उनले जानकारी दिए। यसैबीच, घटनाको समयमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्कालका लागि कामबाट रोक लगाउने र अस्पतालको सेवा–सुविधा सुधारका लागि आवश्यक कदम चाल्ने विषयमा पनि सहमति भएको डीएसपी मल्लले बताए।

मृतकका आफन्तले अक्सिजनमा रहेका बिरामीलाई उपचारका लागि लैजाने क्रममा अक्सिजन हटाइएको र सोही कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरूले उपचार प्रक्रियामा गम्भीर लापरबाही भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनापछि आक्रोशित बनेका आफन्त र स्थानीयले नारायणी अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी विरोध प्रदर्शन गर्नुका साथै होहल्ला र तोडफोडसमेत गरेका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई आकस्मिक कक्षबाट बाहिर निकालेपछि पनि अस्पताल परिसरमा विरोध जारी रहेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो। घटनाका कारण शनिबार दिनभर नारायणी अस्पताल परिसर तनावग्रस्त बनेको थियो। अहिले भने छानबिन समिति गठन भएपछि घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once