काठमाडौं,०४ साउन । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे आयोजना हुने बैठकमा अर्थतन्त्रका यी महत्वपूर्ण क्षेत्रसँग सम्बन्धित प्रमुख व्यक्तिहरूको सहभागिता रहनेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेपालको पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको सुधार, बीमा क्षेत्रको सुदृढीकरण तथा समग्र आर्थिक अवस्थासँग सम्बन्धित विषयमा विस्तृत छलफल गरिनेछ। बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान लगायतका सरोकारवालाहरू सहभागी हुनेछन्। त्यस्तै, बैठकमा नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठसहित प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेलको पनि सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा देशको पुँजी बजारको पछिल्लो अवस्था, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उपाय, धितोपत्र व्यवसायलाई थप व्यवस्थित बनाउने विषय तथा बीमा क्षेत्रलाई प्रभावकारी र सुदृढ बनाउने नीतिगत पक्षमा छलफल केन्द्रित रहने बताइएको छ। यसैगरी, राष्ट्रिय अर्थतन्त्रसँग जोडिएका समसामयिक विषय, आर्थिक क्षेत्रको सुधारका प्रयास तथा आगामी दिनमा अपनाउनुपर्ने नीतिगत रणनीतिबारे पनि सरोकारवालाहरूले आफ्ना धारणा राख्नेछन्।
प्रधानमन्त्री र आर्थिक क्षेत्रका प्रमुख प्रतिनिधिबीच हुने यस छलफललाई पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रको सुधारका लागि महत्वपूर्ण संवादका रूपमा हेरिएको छ।





