काठमाडौं,०३ साउन । कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। किसानलाई आवश्यक पर्ने रासायनिक मल आपूर्तिलाई सहज बनाउने उद्देश्यले खरिद गरिएको उक्त मल नेपालतर्फ ढुवानी भइसकेको मन्त्रालयले जनाएको हो।
कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार ‘ग्लोबल टेन्डर’ मार्फत खरिद गरिएको ३० हजार मेट्रिकटन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा गत जुलाई १० मा आइपुगेको थियो।
उक्त परिमाणको मलमध्ये एक हजार २५० मेट्रिकटन डीएपी मल यही साउन १ गतेदेखि नेपालतर्फ ढुवानी सुरु गरिएको थियो। ढुवानी सुरु भएको उक्त मल सोमबार नेपाल आइपुग्ने मन्त्रालयले जानकारी दिएको छ।
बाँकी रहेको डीएपी मल भने हाल भारतको कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) गर्ने काम भइरहेको जनाइएको छ। प्याकेजिङ प्रक्रिया सम्पन्न भएपछि बाँकी मल पनि क्रमशः नेपाल भित्र्याइने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ।
मल आपूर्तिको सम्पूर्ण व्यवस्थापन कृषि सामग्री कम्पनी मार्फत हुँदै आएको छ। समयमै मल उपलब्ध गराउने उद्देश्यका साथ आयात प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
कृषि क्षेत्रका लागि रासायनिक मलको माग उच्च रहने समयमा आपूर्ति सहज बनाउन सरकारले विभिन्न माध्यमबाट मल खरिद तथा ढुवानीको व्यवस्था गर्दै आएको छ।





