काठमाडौं,३० असार । काठमाडौं जिल्ला अदालतले मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले झाविरुद्ध दायर भएको बलात्कार मुद्दामा दोषी कायम गर्दै फैसला सुनाएको हो। अदालतले सजाय भने अर्को पेसीमा निर्धारण गर्ने जनाएको छ।
अदालतमा भएको सुनुवाइका क्रममा पीडित पक्षका तर्फबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरेका थिए। प्रतिवादी राजेश झाको पक्षबाट भने अधिवक्ता विजय मिश्रसहित १४ जना कानुन व्यवसायीले बचाउ बहस गरेका थिए। दुवै पक्षको बहस, प्रमाण तथा अनुसन्धानका आधारमा अदालतले झालाई बलात्कार अभियोगमा दोषी ठहर गरेको हो। प्रहरीमा दर्ता भएको जाहेरीअनुसार, २०८१ साल जेठ ४ गते कोठामा अरू कोही नभएको मौका छोपी झाले पीडित महिलामाथि पटक–पटक बलात्कार गरेको आरोप लगाइएको थियो। घटनाबारे कसैलाई जानकारी दिए ज्यान मार्ने धम्कीसमेत दिएको जाहेरीमा उल्लेख छ।
उक्त घटनापछि पीडितले २०८१ साल माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा औपचारिक जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले २०८१ चैत २५ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। अदालतको अनुमति पाएपछि प्रहरीले आरोपित राजेश झालाई २०८२ साल साउन ४ गते पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर भएको थियो।
लामो सुनुवाइ र प्रमाण परीक्षणपछि काठमाडौं जिल्ला अदालतले झामाथिको आरोप पुष्टि भएको निष्कर्ष निकाल्दै बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। अब उनको सजाय कति हुने भन्ने विषयमा अदालतले अर्को पेसीमा निर्णय सुनाउनेछ। राजेश झा २०७७ फागुन ७ गतेदेखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेशको प्रदेश प्रमुखका रूपमा कार्यरत थिए। पूर्वप्रदेश प्रमुखसमेत रहेका उनीमाथि लागेको गम्भीर आरोप अदालतबाट पुष्टि भएसँगै उनी कानुनी रूपमा दोषी ठहर भएका छन्।





