एसइई २०८२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

spot_img

काठमाडौं ,२३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ अन्तर्गत सञ्चालन गरिएको पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार यसपटक परीक्षामा सहभागी भएका कुल परीक्षार्थीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पूरक परीक्षामा सहभागी १ लाख २९ हजार ११४ परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका हुन्। बोर्डले नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाले विद्यार्थीलाई आफ्नो शैक्षिक उपलब्धि सुधार गर्ने अवसर प्रदान गरेको जनाएको छ। यस वर्षको पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म देशभर सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी हुनका लागि १ लाख ४६ हजार ५०७ जना विद्यार्थीले आवेदन दिएका थिए। तर आवेदन दिएका मध्ये १ लाख २९ हजार ११४ जना मात्र परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीहरूले आफ्नो नतिजा विभिन्न माध्यमबाट सहजै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को आधिकारिक वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्। साथै एसएमएस, युएसएसडी (USSD) तथा आइभीआर (IVR) सेवाको प्रयोग गरी पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ। त्यसैगरी परीक्षार्थीहरूले आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी अनलाइनमार्फत ग्रेडसिट डाउनलोड गर्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ।

बोर्डका अनुसार नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीहरूले पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्नेछन्। यसका लागि असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। बोर्डले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक माध्यमबाट मात्र नतिजा हेर्न र आवश्यक जानकारी प्राप्त गर्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once