सीमा सुरक्षाबारे ब्रिफिङ लिँदै गृहमन्त्री गुरुङ, जोगबनी नाका अवलोकन गर्ने तयारी

spot_img

विराटनगर,२१ असार । गृहमन्त्री सुदन गुरुङ सीमा क्षेत्रको सुरक्षा अवस्था र छड्के अनुगमनका लागि शनिबार अचानक विराटनगर पुगेका छन्। उनी बुद्ध एयरको जहाजमार्फत बिहान ११ः०७ बजे कुनै औपचारिक कार्यक्रमविना ‘पर्यटक’को भेषमा विराटनगर विमानस्थलमा ओर्लिएका हुन्।

गृहमन्त्री काठमाडौंबाट अचानक विराटनगरतर्फ प्रस्थान गरेको सूचना पाएपछि स्थानीय सुरक्षा निकायका उच्च अधिकारीहरू हतारहतार विमानस्थलमा पुगेर स्वागत तथा सुरक्षा व्यवस्थापन गरेका थिए। मन्त्रीको आगमनबारे पूर्वसूचना नहुँदा केही समय सुरक्षा संयन्त्रभित्र अन्योल र हलचलसमेत देखिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) युवराज कट्टेलका अनुसार गृहमन्त्री गुरुङले विराटनगर आइपुगेलगत्तै सबै सुरक्षा निकायका प्रमुखहरूसँग सीमा सुरक्षाको अवस्था, नियमित गस्ती तथा चुनौतीबारे ब्रिफिङ लिइरहेका छन्।

ब्रिफिङ सकिएलगत्तै गृहमन्त्रीले आजै नेपाल–भारत सीमावर्ती जोगबनी नाका तथा आसपासका क्षेत्रको प्रत्यक्ष अवलोकन र अनुगमन गर्ने कार्यक्रम रहेको छ। मन्त्री गुरुङ पैदलमार्ग हुँदै सुनसरी र मोरङको सीमा क्षेत्रमा छड्के अनुगमनमा आउने हल्ला शुक्रबार साँझदेखि नै चलेको कारण सुरक्षा निकायहरू उच्च सतर्क अवस्थामा रहेका थिए।

यसअघि पनि गृहमन्त्री गुरुङले पर्साको सीमा क्षेत्रमा भेष बदलेर चोरी, तस्करी, राजस्व चुहावट तथा सीमा अपराधको स्थलगत अनुगमन गरेका थिए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि र सुरक्षा कमजोरी नजिकबाट बुझ्न उनले यस्तो कार्यशैली अपनाउँदै आएको बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once