डोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ११ जना घाइते

spot_img

डोल्पा ,२१ असार । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका यात्रुहरूको पहिचानसमेत खुलेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी त्रिपुरासुन्दरी नगरपालिका–७ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका–६ की २८ वर्षीया लालदेवी रोकाय, ४ वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धिरेन्द्र बुढाथोकी, २ वर्षीय प्रितम बुढा, काइके गाउँपालिका–३ का ४४ वर्षीय भीमप्रसाद बुढा तथा त्रिपुरासुन्दरी नगरपालिका–७ का ४६ वर्षीय नन्दराम शाही रहेका छन्।

यसैगरी, जुम्लाको सिंजा गाउँपालिका–३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका–४ का ६४ वर्षीय नित्यानन्द अधिकारी तथा बोलेरो चालक चन्दननाथ नगरपालिका–८ का अन्दाजी ३५ वर्षीय बिन्द्वास रावल पनि दुर्घटनामा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने केहीको अवस्था सामान्य छ। घाइतेमध्ये लालदेवी रोकाय, आवास रोकाय, कर्णसरा बुढा र प्रितम बुढालाई थप उपचारका लागि जुम्ला पठाइएको छ।

अन्य घाइतेहरूको अवस्थाअनुसार थप उपचारका लागि जुम्ला रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once