अस्ट्रेलियामा मृत्यु भएका पर्साका युवकको शव स्वदेश ल्याउन सांसद कानुको माग

spot_img

वीरगंज,१८ असार । वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया गएका पर्साका एक युवकको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउन नसकिएको विषय प्रतिनिधिसभामा उठाइएको छ। पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न माग गरेका हुन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कानुले पर्सागढी नगरपालिका–७, बागेश्वरी निवासी २९ वर्षीय राकेश पटेलको अस्ट्रेलियामा मृत्यु भएको जानकारी गराएका थिए। उनका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा अस्ट्रेलिया पुगेका पटेलको करिब तीन महिनाअघि अस्ट्रेलियाको तामसेलियामा मृत्यु भएको थियो। तर मृत्यु भएको यति लामो समय बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउन नसकिएको अवस्था रहेको उनले बताए।

सांसद कानुले राकेश पटेलको मृत्यु सम्बन्धी विवरण वैशाख २३ गते नै परराष्ट्र मन्त्रालयमा दर्ता गराइसकिएको भए पनि हालसम्म शव स्वदेश फर्काउने प्रक्रिया टुंगोमा पुग्न नसकेको उल्लेख गरे। उनले यस अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै पार्थिव शरीरलाई सुरक्षित, सम्मानजनक र यथाशीघ्र नेपाल ल्याउन आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरे।

उनले विदेशमा रहेका नेपाली नागरिकको जीवन सुरक्षा, अधिकारको संरक्षण तथा आकस्मिक अवस्थामा उद्धार र व्यवस्थापनका विषयमा सरकार अझ संवेदनशील, सक्रिय र जिम्मेवार हुनुपर्ने धारणा पनि व्यक्त गरे। सांसद कानुले दिवंगत राकेश पटेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once