१३ दिने स्टार्टअप कार्यक्रम सम्पन्न, युवा उद्यमीलाई व्यवसायिक सीप

spot_img

वीरगंज,०९ असार । युवा उद्यमशीलता विकास तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) को सहकार्य तथा सङ्घको स्टार्टअप एण्ड इनोभेसन कमिटीको समन्वयमा सञ्चालित उक्त कार्यक्रम १३ दिनसम्म बिसिसिआईको सभाहलमा सञ्चालन गरिएको थियो।

नयाँ व्यवसाय सुरु गर्न इच्छुक युवा तथा उद्यमशील सोच भएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा व्यवसाय सञ्चालनका विविध आयामबारे व्यवहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूलाई व्यवसाय व्यवस्थापन, वित्तीय योजना निर्माण, ब्रान्डिङ तथा मार्केटिङ, बजार विस्तार, लगानी तयारी, बैंकिङ पहुँच, कानुनी प्रक्रिया, व्यवसाय सञ्चालन व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा जानकारी गराइएको आयोजकले जनाएको छ।

कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको १३ दिने मास्टरक्लासमा विभिन्न क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायिक परामर्शदाताहरूले सहजीकरण गरेका थिए। प्रशिक्षणमा उद्यमशीलताको आधारभूत अवधारणा, व्यवसायिक योजना (बिजनेस प्लान) निर्माण, लेखा तथा कर प्रणाली, बजार विश्लेषण, वित्तीय साक्षरता, लगानी व्यवस्थापन, स्टार्टअप फाइनान्सिङ, उद्योग विश्लेषण तथा सञ्चालन व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ समेटिएको थियो।

सहभागीहरूलाई व्यवसायको सुरुवाती चरणदेखि विस्तारसम्म आवश्यक पर्ने ज्ञान, सीप र रणनीतिबारे जानकारी दिइएको थियो। साथै, व्यवसाय सञ्चालनका क्रममा देखिन सक्ने चुनौतीहरूको पहिचान र समाधानका उपायबारे समेत छलफल गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन निम्बस ग्रुपका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी जगदीश अग्रवालले गरेका थिए। समापन समारोह सङ्घका सहसचिव तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका संयोजक अनुप कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधवराज पाल, उपाध्यक्ष आशिष लाठ लगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रशिक्षण अवधिभर सहभागीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवहारिक ज्ञान र सीप हासिल गरेका छन्। कार्यक्रमले नवउद्यमीहरूलाई अनुभवी व्यवसायी, उद्योगी तथा विषयविज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नुका साथै व्यावसायिक नेटवर्क विस्तार गर्न समेत सहयोग पुर्‍याएको छ। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्राप्त ज्ञान, अनुभव तथा सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूले नयाँ व्यवसाय स्थापना गर्न तथा सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न सक्षम हुने विश्वास व्यक्त गरिएको छ।

बिसिसिआईले आगामी दिनमा समेत उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन तथा युवाहरूलाई स्वरोजगार र व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यका यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once