परवानीपुर (बारा), ८ असार । बारा जिल्लाको परवानीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १८औँ गाउँसभा मार्फत उपाध्यक्ष सुगान्धी देवी कनुइनले बजेट प्रस्तुत गर्दै विकास निर्माण, शिक्षा तथा प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन्।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सार्वजनिक नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रको गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण, सरसफाइ व्यवस्थापन, स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन तथा नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने विषयलाई विशेष प्राथमिकताका साथ समेटिएको छ।
गाउँपालिकाले आगामी वर्ष अधुरा रहेका विद्यालय भवन निर्माण कार्यलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ। यसका साथै करसम्बन्धी सेवाहरू गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसँग सम्बन्धित सेवा स्थानीय तहबाट सञ्चालन गर्ने तथा वडा नम्बर १ मा नदी नियन्त्रणसम्बन्धी कार्य सम्पन्न गर्ने योजना समेत अघि सारेको छ। यी कार्यक्रममार्फत स्थानीय नागरिकलाई सहज सेवा उपलब्ध गराउनुका साथै विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीय बासिन्दाको साझा प्रयासबाट मात्रै विकासका लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे।
अध्यक्ष कुर्मीले सुशासन, विकास र नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको स्पष्ट पार्दै गाउँपालिकाको समग्र विकासका लागि शिक्षा, पूर्वाधार र सेवा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। उनले आगामी आर्थिक वर्षमा योजनाहरूको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीयवासीले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्ने विश्वास व्यक्त गरे।
उनको अध्यक्षतामा सम्पन्न गाउँसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाको विकास, सेवा प्रवाह सुधार तथा स्थानीय आवश्यकतामा आधारित कार्यक्रम कार्यान्वयनमा जोड दिएका थिए।
गाउँपालिकाले सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रमले शिक्षा, पूर्वाधार, प्रशासनिक सेवा र स्थानीय विकासका विविध क्षेत्रलाई समेट्दै परवानीपुरको समग्र सामाजिक तथा आर्थिक विकासलाई गति दिने अपेक्षा गरिएको छ।






