खोपवा (बारा), ८ असार । बारा जिल्लाको बारागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको सभाहलमा सोमबार आयोजित गाउँसभामार्फत दोस्रो कार्यकालको नवौं नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
गाउँपालिकाले ‘सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा स्वरोजगार बारागढीको मूल आधार’ भन्ने नारासहित आगामी वर्षको नीति तथा बजेट सार्वजनिक गरेको हो। सार्वजनिक बजेटले समग्र विकास, प्रभावकारी सेवा प्रवाह, स्थानीयस्तरमा रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यलाई केन्द्रमा राखेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार बजेटको प्रमुख स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड रहेको छ। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ५७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १५ करोड ६० लाख रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ८ करोड ७९ लाख १९ हजार रुपैयाँ तथा विशेष अनुदानतर्फ ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख ३० हजार रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ४१ लाख ३१ हजार रुपैयाँ, सशर्त अनुदान ४० लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ तथा समपूरक अनुदान ३० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आन्तरिक स्रोतबाट ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। साथै, गत आर्थिक वर्षको बैंक मौज्दात १ करोड रुपैयाँ समेत समावेश गरी कुल बजेटको आकार निर्धारण गरिएको जनाएको छ।
खर्चतर्फ चालु तथा प्रशासनिक कार्य सञ्चालनका लागि ९ करोड ५९ लाख १६ हजार रुपैयाँ विनियोजन गरिएको छ। विकास निर्माण तथा पूँजीगत कार्यक्रम सञ्चालनका लागि १२ करोड १५ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ। यस्तै संघीय सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदानअन्तर्गत १७ करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत १ करोड रुपैयाँ खर्च गरिने जनाइएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटलाई विशेषगरी शिक्षा, कृषि, पशुपालन, स्वास्थ्य सेवा, खानेपानी तथा पूर्वाधार विकास केन्द्रित बनाएको जनाएको छ। स्थानीय उत्पादन वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, खानेपानी व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको भनाइ छ।
स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तार गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा समग्र सामाजिक–आर्थिक विकासलाई गति दिने उद्देश्यका साथ बजेट तर्जुमा गरिएको गाउँपालिकाले जनाएको छ। सार्वजनिक बजेटले आगामी वर्ष बारागढी गाउँपालिकाको विकास निर्माण, सुशासन प्रवर्द्धन तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा महत्वपूर्ण लगानी गर्ने मार्गचित्र प्रस्तुत गरेको छ।






