‘हामी कसैलाई हराउन होइन, नेपाललाई जिताउन आएका हौँ’ : स्वर्णिम वाग्ले

spot_img

काठमाडौं,०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा कुनै व्यक्ति वा दललाई हराउने उद्देश्यले राजनीतिमा नआएको स्पष्ट पारेका छन्। उनले आफ्नो पार्टीको मुख्य लक्ष्य देशलाई जिताउने, जनतामा आशा जगाउने र नयाँ राजनीतिक संस्कारको स्थापना गर्ने रहेको बताएका छन्।

आइतबार रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले नेपालको राजनीतिमा देखिएको निराशा, अविश्वास र पुरानै शैलीको अभ्यासलाई परिवर्तन गर्न आफूहरू अघि बढेको उल्लेख गरे। उनले रास्वपा पुराना राजनीतिक नेतृत्वसँग व्यक्तिगत रूपमा संघर्ष गर्न नभई नयाँ सोच, नयाँ कार्यशैली र जिम्मेवार राजनीतिक संस्कृतिको विकास गर्न प्रतिबद्ध रहेको बताए।

सम्बोधनका क्रममा उनले भने, “हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं।” वाग्लेले रास्वपाले केवल विरोध र असन्तुष्टिको राजनीति गरेर मात्र आफ्नो उद्देश्य पूरा गर्न नसक्ने बताए। उनले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूलाई आलोचनासँगै व्यवहारिक विकल्प प्रस्तुत गर्नुपर्ने र विद्रोहसँगै निर्माणको अभियानलाई पनि समान प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनले रास्वपाको वास्तविक शक्ति जनआक्रोश मात्र नभई जनताको आशा र भरोसामा आधारित हुनुपर्ने उल्लेख गर्दै सकारात्मक परिवर्तनको नेतृत्व गर्न पार्टी सक्षम हुनुपर्ने बताए। “आलोचना मात्र होइन, विकल्प दिनुपर्छ। विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ,” उनले भने।

उनको भनाइले रास्वपाले आगामी दिनमा केवल स्थापित दलहरूको आलोचनामा सीमित नभई नीति, कार्यक्रम र सुशासनमार्फत आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति अघि बढाएको संकेत गरेको छ।

रास्वपाको पहिलो महाधिवेशन जारी रहँदा पार्टी नेतृत्वले संगठन विस्तार, वैकल्पिक राजनीतिक अभ्यास र सुशासनलाई केन्द्रमा राखेर आगामी कार्यदिशा तय गर्ने तयारी गरिरहेको छ। डा. वाग्लेको सम्बोधनले पनि पार्टीलाई विरोधको राजनीतिभन्दा सिर्जनात्मक र परिणाममुखी राजनीतितर्फ उन्मुख गराउनुपर्ने सन्देश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once