राजविराज, सप्तरी । राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा कठिनाइ देखिएको छ। विद्यालयमा आवश्यक भवन तथा संरचना नहुँदा महत्वपूर्ण कार्यक्रमहरू समेत बरन्डामै आयोजना गर्नुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय प्रशासनका अनुसार भौतिक अवस्था सुधारका लागि पटक–पटक राजविराज नगरपालिकासँग आवश्यक पहलको आग्रह गरिए पनि हालसम्म अपेक्षित सहयोग प्राप्त हुन सकेको छैन। नगरभित्रको एक महत्वपूर्ण तथा नमुना विद्यालयको भौतिक अवस्था कमजोर रहनु चिन्ताको विषय बनेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।
यही अवस्थाबीच “शिक्षित राजविराज, विकसित राजविराज” महाअभियान अन्तर्गत विद्यालयमा आयोजित हाजिरी जवाफ प्रतियोगिता समेत विद्यालयको बरन्डामै सम्पन्न गरिएको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा “शिक्षित राजविराज, विकसित राजविराज” महाअभियानका अभियन्ता डा. सूर्य यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै सामाजिक अभियन्ता कौशल कुमार यादव लगायत विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै भौतिक पूर्वाधारको स्तरोन्नतिका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता सहभागीहरूले औँल्याएका छन्।





